ब्लड क्यान्सर पीडितलाई स्वर्गद्वारी छात्रपरिषद्को सहयोग
१९ असोज
काठमाडौं – ब्लड क्यान्सर पीडित शिवराम कुँईकेललाई स्वर्गद्वारी छात्रपरिषद्ले आर्थिक सहयोग गरेको छ । आईतबार एक कार्यक्रमकाबीच छात्रपरिषद्ले नुवाकोटका क्यान्सर पीडित शिवरामलाई सहयोग गरेको हो ।
स्वर्गद्वारी छात्रपरिषद्ले आफ्ना सदस्यबाट संकलित दुईलाख उनान्चालीस हजार छ सय चौरासी रुपैँया बिरामी तथा उनका दाजु जनार्दन कुँईकेललाई उनकै निबास पुगेर हस्तान्तरण गरेको थियो ।
हाल देवघाटस्थित गलेश्वर आश्रमद्वारा सञ्चालित वेदवेदाङ्ग संस्कृत गुरुकुलमा अध्ययनरत शिवरामलाई उपचार खर्च महङ्गो र अभाव रहेको थाहा पाएपछि आफ्ना सदस्यहरुमार्फत् स्वेच्छिक रकम सङ्कलन गरेको संस्थाका अध्यक्ष शिव घिमिरेले बताए ।
अध्यक्ष शिवका अनुसार एक लाख दुईहजार पाँच सय सतहत्तर नेपालबाट र विदेश विभाग प्रमुख मनोहर धिताल मार्फत् अमेरिकाबाट एक लाख सैँतीस हजार एक सय सात रुपैँया जम्मा गरिएको थियो ।
पौरस्त्य वाङ्मय तथा वैदिक सनातन संस्कार संस्कृतिको संरक्षणमा क्रियाशील स्वर्गद्वारी छात्रा परिषद्ले यही संस्कृत क्षेत्रमा अध्ययनरत बिरामीको स्वाभाविक जीवनयापनमा आर्थिक समस्याले अवरोध नगरोस् भन्ने उद्देश्यले सहयोगको कदम चालिएको घिमिरेले बताए ।
हस्तान्तरण कार्यक्रममा शीघ्रस्वास्थ्यलाभको कामना गर्दै समस्त देश तथा विदेशमा रहेर सहयोग उपलब्ध गराउनुहुने व्यक्तिहरुप्रति धन्यवाद व्यक्त गरिएको थियो ।
सहयोग रकम संस्थाका अध्यक्ष घिमिरेसँगै उपाध्यक्ष कमल गौतम र सहकोषाध्यक्ष वासुदेव गौतमसँगै अन्यपदाधिकारीबाट हस्तान्तरण गरिएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE