Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चीन र भारत जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग छिट्टै : प्रधानमन्त्री

किमाथाङ्का, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गर्नुभएको थियो । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङ्का सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको र सडक ट्रयाक खुलेपछि भएपछि कालोपत्रसम्मको काम क्रमशः हुने बताउनुभयो । उत्तर–दक्षिण कोशी सडक निर्माणपछि किमाथाङ्का निकै नजिक हुने उहाँको भनाइ छ ।

उहाँले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याउनुभयो । उहाँले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने बताउँदै भन्नुभयो, “म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ ।”

प्रधानमन्त्री ओलीले अरुण तेश्रोको कामबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । उहाँले आज अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा अरुण तेश्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति विवरण पेश गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतम, राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङलगायत सङ्खुवासभामा स्थलगत अनुगमनमा आउनुभएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE