Date
शनि, चैत्र १०, २०८०
Sat, March 23, 2024

ओली र दाहाल–नेपाल समूहको तानातानमा पूर्वलडाकु

१७ माघ
काठमाडौं –
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।

पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ ।

प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा नै यसअघि पूर्वलडाकुसँग छलफलसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट १० वर्षे सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका घाइते, अपांगता तथा शहीद परिवारका सदस्यलाई सम्मान तथा परिचयनपत्र दिने प्रक्रिया अघि बढाइएका छन् । उनले विभिन्न आन्दोलन तथा संघर्षका घाइते, अपांगता तथा शहीद परिवारलाई आफ्नो समूहमा पार्ने योजनासहित मन्त्रिपरिषद्बाट सम्मान तथा परिचयपत्र उपलब्ध गराउने निर्णय गराएका हुन् ।

गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने र उनीहरूलाई सरकारका तर्फबाट सम्मान एवं परिचयपत्र उपलब्ध गराउन एक समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको संयोजक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई तोकिएको छ भने सदस्यहरूमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।

समितिले आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने गरी हालसम्म भएका सम्पूर्ण लोकतान्त्रिक आन्दोलन, सशस्त्र द्वन्द्वमा होमिएका शहीदका परिवार, घाइतेलगायतको अभिलेख संकलन गर्नेछ ।

प्रधानमन्त्री ओलीले गत १० माघमा बालुवाटारमा नै पूर्वलडाकुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सार्वजनिक भाषणमा पनि पूर्वलडाकुको विषयलाई निकै प्राथमिकता दिने गरेका छन् । यसअघि एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्कमल दाहालको आलोचना गर्ने क्रममा कालीबहादुर खामको प्रसंग जोडेका थिए ।

पूर्वलडाकुको विषयमा सार्वजनिक कार्यक्रममै चासो र चिन्ताजनक भाषण दिन थालेपछि अर्का अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रमबाटै त्यसको प्रतिवाद गर्नुपरेको थियो । अध्यक्ष दाहालले पूर्वलडाकुको अहिलेसम्म आफूले नै नेतृत्व र संरक्षण गर्दै आएकाले अब पनि आफूले नै संरक्षण गर्न सक्ने तर ओलीले गर्न नसक्ने जनाएका थिए ।
ई आफ्नो समूहमा पार्न ओली तथा प्रचण्ड–माधव दुवै समूह सक्रिय रहेको पाइएको छ । पूर्वलडाकुका विभिन्न राजनीतिक समस्या भने हालसम्म पनि हल हुन सकेको छैन ।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा पूर्वलडाकुले परिचयपत्र, सम्मान तथा आफूहरूको उचित व्यवस्थापनको माग अघि सारेका थिए । मन्त्रिपरिषद्ले परिचयपत्र दिने र सम्मान गर्ने निर्णय गरेको थियो ।

पार्टी विभाजनपछि ओली समूहमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, मणि थापालगायतका नेताहरू छन् । पूर्वमाओवादी समूहको जोडबलमा प्रधानमन्त्री ओली पनि पूर्वलडाकुलाई आफ्नो समूहमा पार्ने पक्षमा छन् ।

१० वर्ष सशस्त्र संघर्षमा होमिएको तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि आफूहरूको व्यवस्थापनमा पार्टी नलागेको भन्दै उनीहरू तत्कालीन माओवादी नेतृत्वसँग असन्तुष्ट पनि छन् । स्वेच्छिक अवकाश लिने तथा नेपाली सेनामा समायोजन हुने पूर्वलडाकु खासै रुष्ट नभए पनि विशेष गरी अयोग्य भनिएका पूर्वलडाकुमा समस्या बढी रहेको पाइएको छ ।

कतिपयलाई अहिले दैनिकी चलाउन पनि समस्या पर्ने गरेको छ । उनीहरू यसअघि आफ्ना माग पूरा गराउन भन्दै अनशन पनि बसेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE