Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

कविता : प्रविधिको जमाना रे अचेल !

प्रविधिको जमाना रे अचेल

डिजिटल युग रे अचेल

स्क्रिन टच मोबाईल हातमा

महङ्गामहङ्गा ल्यापटप साथमा नभए

पाखे हुने जमाना रे अचेल ।।

 

मोबाइल छुन जानेन भने

ल्यापटप खेलाउन र

टिभीको रिमोट हल्लाउन जानेन भने

अनि आइप्याडको कुरो निकालेन भने

पाखे हुने जमाना रे अचेल ।।

 

पढाइगुनाइ त्यस्तै हो ।।।

लेखाइ र शुद्धीकरण त झनै पर ।।।

तरःऔठाछापै भए पनि

स्मार्ट फोन, ट्याब र आइप्याड भए

त्यसै पनि भद्र हुने जमाना रे अचेल ।

होइन भने पाखे हुने जमाना रे अचेल ।।

 

संस्कार संस्कृति

बादलपारिको घाम भए अचेल

वास्तविकता बालुवाको पानी भए

अनि

देखावटी, बनावटी र सजावटी

हिराको खानी भए अचेल

किनकि उसले भन्यो

प्रविधिको जमाना रे अचेल

देखावटी, बनावटी र सजावटीमा लागेन भने

पाखे हुने जमाना रे अचेल ।।

 

ओमकुमार श्रेष्ठ

शिक्षक, कन्काइ-३, झापा

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: