गौतम बुद्धले जस्तै प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्ष आज एक मात्र विकल्प : प्रचण्ड
१२ जेठ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रिनु परिवर्तनगामी शक्तिका सामु आज एक मात्र विकल्प रहेको बताउनुभएको छ ।
गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्नुभएको हो । गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको प्रचण्डको भनाइ रहेको छ ।
“बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन् । सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ,” शुभकामना सन्देशमा उल्लेख छ ।
WRITE COMMENTS FOR THIS ARTICLE