Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाली फुटबल टोली इराकबाट कुवेत जाँदै

१६ जेठ काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली इराकसंगको मैत्रीपूर्ण खेलपछि आइतबार कुवेत जाँदैछ । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी ३ खेल खेल्न नेपाली टोली इराकबाटै कुवेततर्फ गएको हो ।

नेपाली टोली इराकको स्थानीय समयअनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने र करिब २ घण्टाको यात्रापछि कुवेत पुग्ने व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी गराएको हो  ।

शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६–२ ले पराजित भएको थियो । नेपालका लागि अन्जन विष्ट र मनिष डाँगीले गोल गरेका थिए ।

कुवेतमा नेपालले छनोट चरणका तीन खेल खेल्नेछ । जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना नेपालको लगभग सकिसकेको छ । अंकगणितीय रुपमा मात्र झिनो सम्भावना बाँकी छ ।

तर २०२३ मा हुने एसियन कपको समेत यो छनोट रहेकोले नेपाललाई बाँकी ३ खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपाल चौथो स्थानमै रहेर छनोट सकाए एसिया कपको लागि सिधै छनोट हुने सम्भावना रहन्छ । पाँचौं भएमा भने नेपालले एसिया कपको अर्को चरणमा पुग्नका लागि पनि थप प्लेअफ राउण्ड खेल्नुपर्ने हुन्छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE