Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

प्रचण्डको सुरक्षामा डीएसपीको कमाण्डमा प्रहरी

प्रचण्डको सुरक्षामा डीएसपीको कमाण्डमा प्रहरी

५ साउन, काठमाडौं– विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मिच्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाउन थालिएको छ । कार्यविधिमा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई खटाइएको हो ।

उक्त कार्यविधिअनुसार प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था छ । यद्यपि प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ बढेको भन्दै उनको सुरक्षा बढाइएको बताइएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई डीएसपीको नेतृत्वमा सुरक्षा दिने निर्णय भएको हो ।

यसअघि रामबहादुर थापा ‘बादल’को कार्यकालमा गृह मन्त्रालयले भीआईपी सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई घरेलु काममा प्रयोग गरिएकाले विकृति बढेको निष्कर्ष निकाल्दै भीआईपी सुरक्षा मापदण्ड बनाएको थियो । सो मापदण्डअनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले आजीवन प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्न सक्छन् ।

सो कार्यविधि आएपछि प्रचण्डले ओली सरकारले पूर्वाग्रह राखेर सुरक्षाकर्मी घटाएको गुनासो गर्दै आफ्नो सुरक्षामा पूर्वजनमुक्ति सेनालाई खटाएका थिए ।

यद्यपि यता प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत प्रचण्डमाथि सुरक्षा चनौती रहेकाले डीएसपीको नेतृत्वमा सुरक्षा दिनु अस्वभाविक नभएको दाबी गर्छन् । ‘कार्यविधिले पनि थ्रेटको आधारमा पनि सुरक्षाकर्मी थपघट गर्न सकिने परिकल्पना गरेको छ, त्यही अनुसार सुरक्षाकर्मी थपिएको हो ।’ उनले भने ।

त्यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि बढाइएको छ । उनीमाथि ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE