Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘केयरगिभर’मा इजरायल जानेको भाषा परीक्षा आजदेखि

२८ भदौ, काठमाडौँ – ‘केयरगिभर’का लागि इजरायल जानेहरूको अंग्रेजी भाषा परीक्षा सोमबार (आज) हुँदैछ ।
परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

विभागका अनुसार परीक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुनेछन्। विभागका अनुसार परीक्षा दिउँसो १ बजेदेखि हुनेछ। परीक्षा समयावधि १ घन्टाको हुनेछ।

भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ। लिखित परीक्षापछि मौखिक परीक्षा हुने विभागले जनाएको छ। परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ।

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ।

सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी ९पीआइबिए०लाई पठाई सोको विवरण विभागको वेवसाइटमा प्रकाशन गर्नेछ। विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ।

पिआईबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।

अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ। विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्। भिसा अवधि पाँच वर्षको रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE