Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न मौरीपालक महासंघको माग

२९ भदौ, काठमाडौँ – दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ ।

यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार विज्ञप्ती नै जारी गरेको छ । मौरीपालक महासंघले गीत सम्प्रेषित र प्रकाशित गर्नेप्रति खेद प्रकट गर्दै कानुनी कारवाही गर्न आग्रह गरेको छ । साथै, यो गीतको प्रशारण बन्द गर्न पनि महासंघले माग गरेको छ ।

तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० देखि ३३ प्रतिशत भन्दा बढी उत्पादनमा बृद्धि भएको अवस्थामा उक्त गीतले गलत सन्देश प्रस्तुत गरेको मौरीपालक महासंघका अध्यक्ष शिव प्रसाद शर्माले बताउनुभयो ।  उहाँले भन्नुभयो–‘मौरीले तोरी खाएपछि राम्रो उत्पादन हुँदोरहेनछ भन्ने खालको नकारात्मक सन्देश गीतले सम्प्रेषण गर्न खोजेको छ ।’गीत सार्वजनिक भएको लामो समयसम्म जानकारी नपाएको र जानकारी पाउनासाथ विरोध जनाएको उहाँले बताउनुभयो । उहाँले कृषि मन्त्रालय, गृह मन्त्रालयमा समेत यसबारे जानकारी गराएको बताउनुभयो ।

यस गीतलाई नेत्र अर्यालले लेख्नुभएको हो । उहाँले शब्दलाई केवल विम्बका रुपमा मात्र प्रयोग गरिएको बताउनुभयो । गीत, संगीतमा धेरै कुराहरु विम्बका रुपमा प्रयोग हुने बताउँदै गीत सार्वजनिक भएको लामो समयपछि विज्ञप्ती आएकोमा आश्चर्य प्रकट गरे उहाँले बताउनुभयो। ‘हामीले केवल विम्बका रुपमा ‘तोरी खायो मौरीले’ प्रयोग गरेका हौं ।

त्यसमा कसैको उत्पादनमा न्यूनिकरण गर्ने, ह्रास् ल्याउने किसिमका शब्द प्रयोग गरेका छैनौं । यो त सिधै सिर्जनामा बन्देज लगाउन खोजेजस्तो कुरा भयो।’ उहाँले अगाडि भन्नुभयो–‘तिमी जून जस्ती छौं भन्दा यूवतीको अनुहार गोलो परेको हुन्छ र ? ’ उहाँले गीतसंगीतमा यसरी विज्ञप्ती आउँदै जाने हो भने सर्जकले गीत लेख्ने समयमा प्रत्येक संघसंस्थामा धाउनुपर्ने अवस्था आउन सक्ने गुनासो गर्नुभयो ।

मौरीले मिहिनेत गरेर आएर गुलियो मह बनाउँछ । साना नानीहरुलाई तिमीहरुले पनि मिहिनेत गरेर पढ्नुपर्छ भन्ने हिसावले विम्बका रुपमा तोरी र मौरीलाई प्रस्तुत गरिएको हो । अब उहाँहरुलाई कसरी हानी गर्यो? उहाँहरुले नै बताउनुहोला ?

WRITE COMMENTS FOR THIS ARTICLE