Date
शनि, असार ११, २०७९
Sat, June 25, 2022

वीरसहित आठ अस्पतालले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने

१ जेठ, काठमाडौं सरकारको निर्णय अनुसार आजदेखि सरकारी स्वास्थ्य संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार आकस्मिक बाहेकका ओपीडी सेवा बन्द भएका छन् । देशका अधिकांश अस्पताल र स्वास्थ्य संस्थाले सोही अनुसार आजबाट बिदा कार्यन्वयनमा ल्याएका छन् ।

तर केही ठूला अस्पतालले दुई दिन बन्द हुँदा नागरिकलाई स्वास्थ्य सेवा लिन असुविधा हुने विषयलाई मध्यनजर गर्दै आइतबार ओपीडी सेवालाई निरन्तरता दिएका छन् ।

आइतबार त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, प्रदेश अस्पताल सुर्खेत, आयुर्वेद चिकित्सालय नरदेवी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालले ओपीडी सेवा सञ्चालन गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बिदाको विषयमा थप छलफल आवश्यक रहेको भन्दै हाललाई नियमित रुपमा आइतबार पनि विगतमा जस्तै सेवा सञ्चालन भइरहेको बताए । ‘दुई दिन बिदा गर्दा स्वास्थ्य सेवा धेरै अलपत्र हुन्छ । सरकारले दुई दिन बिदाको निर्णय गरेको छ । तर त्रिभुवन विश्वविद्यालयले थप के निर्णय गर्छ । अहिलेको लागि अर्को निर्णय नभएसम्म सेवा सुचारू नै रहन्छ,’ उनले भने ।

त्यसैगरी चितवनको भरतपुर अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन भए पनि बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म न्यून शुल्कमा ओपीडी (पेइङ ओपीडी) सेवा सञ्चालन गर्ने बताएको छ ।

यता वीर अस्पतालले पनि लगातार तीन दिनको बिदा परेका कारण आइतबार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । तर अर्को हप्ता थप बिदाको विषयमा स्वास्थ्य मन्त्रालयको स्पष्ट जानकारी आएपछि लागु गर्ने अस्पताल निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले बताए ।

यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्वास्थ्यकर्मीको समयतालिका मिलाएर मात्रै बिदाको निर्णयमा जाने जनाएको छ । आयुर्वेद चिकित्सालय नरदेवीले पनि आइतबार बहिरंगसहितका स्वास्थ्य सेवा सुचारु गरेको छ ।

कान्ति बाल अस्पतालले भने तत्कालका लागि आइतबार बिदा दिने निर्णय कार्यान्वयन नहुने जनाएको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्नका लागि आवश्यक गृहकार्य गर्नुपर्ने भएकोले अर्को निर्णय नभएसम्मका लागि आइतबार अस्पतालको सम्पूर्ण सेवा यथावत् सञ्चालन गरिने अस्पताल प्रशासनले बताएको छ ।

प्रदेश अस्पताल सुर्खेतले पनि सूचना जारी गर्दै आइतबार बिदा दिने निर्णयबाट पछि हट्दै आइतबार नियमित सेवा दिने जनाएको छ ।

गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE