Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

‘हेभन इज मीथ, शैलुङ इज रियल’

सैलुङको सौन्दर्य–सुधा पिएर...

काठमाडौँका दुई–चार कुनामा मात्र आफूलाई सीमित बनाएको धेरै भएको थियो । कोठा, कार्यालय र केही साथीभाइको जमघटबाहेक अन्त जाने ठाउँ र समय नै कहाँ थियो र ? बिहानै आँखा मिच्दै अफिस गयो, ८ घण्टा काम ग¥यो । अर्को अफिस आयो, प्रोजेक्टको काम ग¥यो । यस्तैमा व्यस्त दिनचर्या । दिनचर्याहरु व्यस्त मात्र हैन, अस्तव्यस्त बनिरहेका थिए । सोही अस्तव्यस्तताबाट फुत्केर बेलाबेलामा सहकर्मी भुपेन्द्र भण्डारी, प्रताप दुलाल दाइ घैँटे चियामा पुग्थ्यौँ ।

एकदिन घैँटेमा चिया खानेभन्दा पनि घुम्न जाने प्लान बनाउन पुगेका थियौँ । प्लान बन्यो– सैलुङको छोटो यात्रामा जाने । साउन ३१ गते काठमाडौँबाट हिँड्ने, भदौ २ गते फर्किने । जाने टिम बन्यो सप्तर्षिजस्ता सात ऊर्जाशील युवाहरुको । जसमा सृजना, सरोज, अञ्जना, प्रताप, भुपेन्द्र, दावा र म थियौँ । जाँदा हामीलाई दावा दाइले आफुसंगै लाने र फर्किंदा हामी ६ जना मात्रै फर्किने प्लान बन्यो ।

०००


बागबजारमा बनाएको प्लानअनुसार साउन ३१ गते बिहान ९ बजे प्रताप दाइ, सरोज, भुपेन्द्र र म कोटेश्वरमा जम्मा भयौँ । सृजना र अन्जना भक्तपुरमा भएकोले उनीहरुलाई त्यतैबाट लिएर जाने भइयो । दावा दाइ धुलिखेलमा भेटिएर सँगै जाने भयौँ । भुपेन्द्र र म पहिले पनि गइसकेको भए पनि अन्यको लागि यो यात्रा नौलो थियो । एकले अर्कालाई राम्रोसँग बाइक हाँक्न, हतार नगर्न र धेरै ग्याप नराख्न अनुरोध गर्दै भक्तपुरबाट टोली अघि बढ्यो । भुपेन्द्र र सरोजलाई बाहिरको बाटोमा बाइक कुदाएको बानी भए पनि प्रताप दाइलाई रहेनछ । साँगा पुग्दा नै हात दुख्यो पो भन्न थाल्नुभयो । मनमा पीर यहीदेखि नै पो प¥यो । र, पनि मैले हौस्याएँ । हात दुखे पनि दाइलाई सैलुङको फोटोले लोभ्याएर होला म सक्छु भनिरहनुहुन्थ्यो । साँगामा चिया खाएर गुडेको हाम्रो टोली ठाँउ–ठाँउमा चिया खान रोकिरहन्थ्यो ।

वीपी राजमार्ग । साना साना घुम्ती । स्पिडमा आउने सुमो, हाइस र बसहरु । कतै हान्लान् कि झैँ गरी । साना–ठूला पहाडको बिचको बाटो । कतै उपत्यका । कतै चिसो र शीतल । अनि कतै प्रचण्ड गर्मी । राजमार्ग नजिकै बगेको रोशी खोला । झुल्दै गरेका धानका बाला । पाक्दै गरेका मकैका कोसा । स्वागतका हात हल्लाएझैँ हल्लिरहेका केराका पातहरु । हामीलाई नै स्वागत गरेर मुसुमुसु हासेझैँ देखिने हिमाली चुचुरा । कतै बिग्रिएको बाटो, कतै खोल्सीहरु हेर्दै हामी नेपालथोक पुग्यौँ । त्यहीँ खाना खायौँ । ५ मिनेट विद्युत नहुँदा खलखली पसिना आउने । कस्तो गर्मी । टिक्नै मुस्किल थियो । खाना खाएर हामी राकाथुम हुँदै शैलुङतर्फ लाग्यौँ ।

राकाथुम हुँदै शैलुङ जाने बाटो

अघिल्लोपटक शैलुङ जाँदा खाँडादेवीको बाटो गएका थियौँ । सुनकोशीको तीरैतीर । अलि अघि बढेपछि आयो लुभुघाट । पुल तरेपछि थोरै मध्यपहाडी लोकमार्गमा गुड्नुपर्छ । त्यसपछि हामी राकाथुमतिर मोडियौँ । यो बाटो मेरा लागि नौँलो नै थियो । बस्तीको बीचबाट कोरिएको बाटो । रातोरातो माटो । राकाथुमको थोरै बाटो मात्र पिच रहेछ ।

बाटो सजिलो होला सोचेकी थिएँ । केहीबेर कच्ची बाटोमा गुडेपछि अलिक माथि पो देखियो असली बाटो । तर त्यो बाटो उति असल कहाँ थियो र ? कतै ठूलठूला खाल्डा, कतै सम्म परेको बाटो । कतै त हिलो जमेर बसेको अनि कतै बर्खे भेलले चिरा पारेको सडक । ओहो फर्किनु कि जानु, निकै अलमल भयो ।

बाटो जस्तो भए पनि वरपरको वातावरणले भने लोभ्याइरह्यो । बाटोमा भेटिएका गोठाला, स्कुले विद्यार्थी, घाँस–दाउरा बोकेर फर्किएका मानिसहरु । कतै काँक्रा झुण्डिरहेका, कतै अम्बा त कतै आँट (सरिफा) फलिरहेको थियो । लड्दै, उठ्दै हामी अग्लेश्वर पुग्यौँ । अग्लेश्वरको भीर यसै पनि अजङ्गको थियो । बाटो उस्तै अप्ठ्यारो । त्यस्तैमाथि १ मिटरको दुरीमा पनि मानिस नदेखिने गरी लाग्ने बाक्लो कुहिरो । हामीलाई त पीर थिएन तर प्रताप दाइले त्यो बाटोमा बाइक चलाउन सक्ने हो कि होइन भनेर डर थियो मनमा । जसरी पनि जानै पर्ने सोचेर होला, प्रताप दाइले जसोतसो बाइक हाँकेरै छाड्नुभयो ।

रामेछापको दोरम्बा हुँदै खोलाखर्क लाग्यौँ । जति माथि गयो त्यति नै रमणीय स्थानहरु भेटिरहन्थे । खोलाखर्क दावा दाइको घर पुग्नै लाग्दा प्रताप दाइ नमज्जासँग लड्नुभयो । प्रताप दाइको पिठिउँमा बसेकी सृजना नमज्जासँग भुँइमा बजारिई । त्यस्तो अप्ठ्यारो बाटोमा ढुंगामा बजारिँदा पनि सृजना हाँसिरहेकी थिई । कस्ती मज्जाकी मान्छे !

 

करिब बेलुकाको ६ बजेको थियो होला, हामी खोलाखर्क पुग्दा । सबैतिर बादलले ढाँकिएको चिसो ठाउँ । पातलो ज्याकेट लगाएका हामी लगलगाउन थाल्यौँ । ब्ल्याक कफी, उसिनेको मकै, उसिनेको आलु, टिमुर र अकबरे खुर्सानी हालेर बनाइएको अचारसँगै ङिडोमा भाउजुको माया ग्रहण ग¥यौँ । ङिडोमा भाउजु हामीसंगै यात्रामा जोडिनु भएका दावादाईको श्रीमती । हसिलो अनुहार, कस्ती रुपवती भाउजु ।

ङिडोमा भाउजु

अँध्यारो हुँदै जाँदा पदमचाल जडिबुटीको अचार र किबीको जुससँगै सुरु भयो सांगीतिक माहोल । थकाइमा पनि रमाइरहेका हामीलाई रातको ११ बजेको पत्तै भएन । करिब १२ बजे आ–आफ्नो ओछ्यानतिर लाग्यौँ । थकाइले होला, भसुक्कै निदाइहालेछौँ ।

एउटा सिरकले धान्नै नसक्ने चिसो थियो । ब्युँझिँदा घाँटीमा पसिनाजस्तो के चिसो फिल भयो । छामेँ । हातभरि च्यापच्याप लाग्यो । झस्किँदै लाइट बालेर हेरेको त रगत पो रहेछ । ल बर्बाद ! निदाएको बेलामा जुकाले गालैमा ‘म्वाइ खाएर’ गएछ । निद्रा खुल्दा राति १ बजेको मात्रै रहेछ । अब निन्द्रा लागे पो !

रातभर पानी परिरह्यो । मनमा डरको बादल मडारिरह्यो । अब भोलि दिनभर पानी परेर मौसम खुलेन भने, यदि सैलुङलाई नियाल्न पाइएन भने ! म त पहिले पनि आएकी छु । तर साथीहरुको दुःख त फगत नहोस्, यही कामना गरिरहेँ ।

बिहान भयो । पानी पनि रोकियो । जुकाहरु बिता नाप्दै उफ्रिरहेका थिए । हामीहरु प्नि बाटो नाप्नतिर लाग्यौँ ।

बिहानको ८ बजे सैलुङतर्फको दुईचक्के यात्रा सुरु ग¥यौँ । बाटोमा चौरी गोठ । चरिरहेका चौरीहरु । बादलुको घुम्टोले छपक्कै छोपिएका डाँडापाखा । थरीथरीका फुलहरु । आहा ! सबैको मुखबाट एकैपटक निस्कियो– आहा !!

बिस्तारै आकाश खुल्दै गयो । शैलुङका थुम्काहरु आँखैअगाडि देखिए । ओहो कति सुन्दर ! बादलमाथिको यो पहाड । सुन्दर दृश्यहरु देख्दा मन रोक्नै सकेनौँ । पोज दिँदै फोटो खिच्न थाल्यौँ । हाम्रो फोटोग्राफर बन्नुभयो– सैलुङकै पुत्र दावा दाइ । थरीथरीका फूल टिप्दै शिरमा लगाउन थाल्यौँ । माथिल्लो उचाइमा पुग्दा हावाका झोँक्काहरुसंग मितेरी लगाउँदै आफ्ना प्रिय पात्रहरुलाई सम्झिरहेका थियौँ, सायद सबैले । धेरै अगाडिदेखि योजना बनाएर भारत गएका कारण जान नपाएको साथी राज भण्डारी र विशेष कारणवश जान नपाएकी साथी सृजना दाहाल, विजिशा बुढाथोकी र गिता भुजेललाई सम्झियौँ ।

प्राकृतिक भ्यूटावर शैलुङमा टक्क उभिएर नियाल्यौँ, चारैतिर । बादलुमाथि उभिएर अंगाल्यौ शैलुङलाई । अरुले के सम्झे र गरे थाहा भएन । तर मैले शैलुङलाई पहिलै दिलमा राखेर आएकी थिएँ । हृदयभरि यहाँको सौन्दर्य–सुधा पिएर अमिट हुनेगरी फेरि शैलुङकै नाम छातीमा सजाएँ ।

०००

तामाङ भाषामा ‘शै’को अर्थ सय र ‘लुङ’ को अर्थ थुम्का भन्ने हुन्छ । यसरी नामाकरण भएको शैलुङको अर्थ– सयओटा थुम्का मिलेर बनेको पहाड भन्ने बुझिन्छ । करिब २२००–३१६८ मिटरसम्म उचाई रहेको शैलुङमा शैलुङ्गेश्वर महादेवको मन्दिर, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि छ ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल, पर्यटकीय दृष्टिकोणले अति नै मनोरम र प्राकृतिक सम्पदामा, प्राकृतिक सुन्दरताको पर्यायको रुपमा समेत परिचित छ । शेर्पा, तामाङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण, दलित आदि जातिको बाहुल्यता तथा बसोवास रहेको यो क्षेत्र सुन्दरताको अनुपम संगम नै हो ।

यहाँका बासिन्दा चौंरीको दूधबाट मिठा छुर्पी, चिज बनाउँछन् । साथै बहुमुल्य जंगली जडिबुटी पाँचऔंले, चिराइतो, मजिटो, च्यातु लगायत अन्य धेरै जडिबुटीहरू यहाँका खास खजाना हुन् । शैलुङ डाँडा प्राकृतिक भ्यूटावर हो, जहाँबाट उत्तरी क्षेत्रमा रहेको गौरीशंकर हिमाल, पाथिभरा हिमश्रृंखला, सगरमाथा हिमश्रृंखलाका दृश्य नजिकैबाट अवलोकन गर्न सकिन्छ । विभिन्न जिल्लासमेत अवलोकन गर्न सकिने शैलुङ घुम्दा हामी सबैको मुखबाट निस्कियो– ‘हेभन इज मीथ, शैलुङ इज रियल ।’
–०–

WRITE COMMENTS FOR THIS ARTICLE