Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

आत्महत्या रोकथाम दिवसः आत्महत्या कायरता होइन मनोरोग हो

  • नोर्बु योञ्जन

हरेक वर्ष सेप्टेम्बर १० अर्थात भाद्र २५ गतेका दिनलाई बिश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाईने गरिन्छ । यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले ‘आशा जगाऔ जीवन बचाऔ’ भन्ने नारा सहित विश्वभर नै मनाई रहेको छ । आत्महत्या कायरता होइन मनोरोग हो उपचार सम्भब छ त्यसैले खुलेर कुरा गर्न आवश्यक छ।

आत्महत्या भनेको आफ्नो जीवन आफैले थाहा पाएर नै ज्यान लिने व्यबहार हो । सामान्य बुझाईमा आफ्नो श्वासप्रश्वास रोकी वा बन्द गरि गरिँने हत्यालाई आत्महत्या भनिन्छ । मनोवैज्ञानिकहरुको भनाई अनुसार आत्महत्या मानसिक समस्याको एक जटिल परिणाम हो ।

केही ब्यक्तिहरुले आफ्नो समस्याहरुको समाधान नहुँदा या गर्न नसक्दा आफ्नो उद्देश्य वा आंकाक्षा पूरा गर्न नसक्दा क्षणिकको रिसको आवेगमा आएर आत्महत्या गरेको पाईन्छ । मानिसहरु मानसिक तनाब तथा पीडाहरु थेग्न नसकी भित्री मन देखि नै बाच्नु भन्दा मर्नु नै सहज ठानेर वा बाचेर धर्तिको बोझ मात्र भयो भन्ने महासुस गरेर आत्महत्या गर्ने गर्छन ।

आत्महत्यालाई त्यसको प्रकृति अनुसार आत्महत्या र आत्महत्या प्रयास भनि दुई प्रकारको मानिन्छ । आत्महत्या प्रयासको संख्या आत्महत्या भन्दा बढी हुने गर्दछ । प्रायः एक आत्महत्या हुँदा २०/३० जनाले आत्महत्या प्रयास हुने गरेको पाईएको छ । नेपालमा प्रत्येक बर्ष आत्महत्याका घट्नहरु दिनप्रतिदिन बढ्दै गइरहेको पाईन्छ । आत्महत्याको सोच तथा प्रयासलाई तत्कालै उपचार गर्नु पर्ने अत्यन्त संबेदनसिल बिपदको रूपमा हेरिन्छ ।

अहिलेको अबस्थालाई हेर्ने हो भने विशेष गरि युवावर्गहरुमा  आत्महत्या गर्ने वा अधिकतम रूपमा प्रयास गर्ने संख्या अन्य उमेरको संख्या भन्दा ज्यादै बढी हुने गरेको पाईन्छ  । आत्महत्याले ब्यक्तिको निधन मात्र नभैई परिवार ,समुदायमा  समेत ठुलो असर पार्दछ ।

नेपाल बिश्वमा आत्महत्याको जोखिममा सातौं स्थानमा र महिलाहरुमा तेस्रो स्थानमा पर्दछ । आत्महत्या गरेर जति ब्यक्तिहरुको मृत्यु भैईरहेको हुन्छ त्यसको तुलनामा आत्माहत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गर्दछ । प्रायः महिलाहरु पुरुषहरूको अनुपातमा बढी आत्महत्याको प्रयास गर्दछ्न् ।

नेपालमा प्रत्येक बर्षा आत्महत्याका थुप्रै घट्नहरु दिन प्रतिदिन तीब्र गतिमा वृद्धि हुँदै जानुको केही प्रमुख कारणको रूपमा लिन सकिन्छ जस्तैः सामाजिक , मानसिक र आर्थिक तत्वलाई लिएको छ  । नेपालको सन्दर्भमा आत्महत्याको विभिन्न माध्यमहरु मध्ये केही उल्लेख गर्न सकिन्छ । शरीरमा आगो  लगाएर , डोरीले झुन्डिएर ,विष सेवन  गरेर , धारिलो हात हतियार प्रयोग ,पानीमा डुबेर ,खोलामा हाम फालेर , निसास्सिएर, सवारी साधन दुर्घटना गराएर, गोली हानेर र अत्याधिक मात्रामा मदिरापान सेबन गरेर समेत आत्माहत्या गर्ने गरेको पाईन्छ ।

विश्वमा बर्सेनी आत्महत्याको कारण सरदर ८ लाख  ब्यक्तिहरुको मृत्यु भएको पाईन्छ । हरेक सेकेन्डमा १ जनाले प्रयास गरि रहेको र ४० सेकेन्डमा विश्वमा कतै कुनै ब्यक्तिले सफल रूपमा आत्महत्या गर्दछ्न । (बिश्व स्वास्थ्य संगठन) आत्महत्याको उमेर अनुसारको तथ्याङ्क हेर्ने हो भने १५/४४ वर्ष उमेर समुहका ५५ प्रतिशत र ४५ वा सो भन्दा माथी उमेर समुहका  ४५ प्रतिशत रहेको छ आत्महत्याको प्रयास वा आत्महत्या गरि ज्यान गुमाउने करिब ८५ प्रतिशत ब्यक्तिहरुमा काही न काही मानसिक समस्या रहेको पाईन्छ ।

सामान्य स्वस्थ्य भएका ब्यक्तिहरुको तुलनामा मानसिक समस्या भएका ब्यक्तिहरुमा आत्माहत्याको जोखिम ३ देखि १२ गुण बढी रहेको हुन्छ ।

विशेष गरि केही अध्ययनले आत्माहत्याको कारण जटिल किसिमको मानसिक तनाब , अत्याधिक रक्सी सेबन र लागुपदार्थको दुरुपयोगलाई लिन सकिन्छ । केही तथ्याङ्कले मानसिक समस्या आर्थिक , अध्ययन, र ब्यापार  प्रेममा असफलतालाई आत्माहत्याको प्रमुख कारणहरु भन्ने गरेको छ । जसले आत्महत्याको कोसिस गर्ने र आत्महत्या गर्ने गर्छन उनीहरुमा ९५ प्रतिशत मानिसहरुमा  कुनै न कुनै किसिमको मानसिक समस्याबाट पीडित भएका हुन्छन् ।

आत्महत्याको सोच बनाएका ब्यक्तिले केही न केही पुर्ब योजना बनाई योजनाबद्ध तरिकाले आत्महत्या गर्छन ।   भने ५ प्रतिशत ब्यक्तिले मात्र आत्महत्या गर्ने भनी समय समयमा धाक धम्की दिई रहेको हुन्छ । मानिसले सामाजिक, आर्थिक ,साँस्कृतिक तथा मनोबैज्ञािनक कारणले पनि आत्महत्या गर्न सक्छ्न । मानिसको जिबनमा देखिने गम्भीर पीडादायक शारीरिक रोग जस्तैः क्यान्सर लाग्नु, श्रीमान श्रीमतिबिच सम्बन्ध बिच्छेद हुनु, मृगौलाको रोग लाग्नु , बिगतको दिनहरुमा परिवारको अन्य सदस्यहरुले पनि आत्महत्या गरेको, कमजोर आर्थिक अवस्था , बेरोजगारी, बाल्यकालको बिपत्ति, मानसिक समस्याहरु र मनोबैज्ञानिक तत्वहरु , दीर्घ रोग , सामाजिक , ब्यक्तिगत वा मनोसामाजिक समस्याहरु, आबेगपन , रक्सी र अन्य लागुपदार्थ दुरुपयोग, कुनै कामको निरन्तरताको असफलता , आफ्नो समाजबाट अलग्गाएको , कष्टपूर्ण बैबाहिक जीवन, अबैध गर्भधारण , विभिन्न ब्यबसायमा क्षति पुग्नु , बिबाह गर्दा माईती पक्षले दाइजो नदिनु ,सामाजिक अपमान बहिस्कार नै आत्माहत्याको कारक तत्त्व हुन सक्छन् ।

बिशेषतः आत्महत्या गर्ने ब्यक्तिहरुले आत्महत्या तथा आत्महानिका विभिन्न ब्यबहारिक संकेतहरु गरेको पाईन्छ । जस्तैः आशा बिहीन , सहयोग बिहीन महसुस गर्ने, आफुले सोचेको जस्तै कुनै काम भएन भने झट्ट रिसाउने, मृत्युबारे कुरा गर्ने , लागुपदार्थको अत्याधिक सेबन  गर्ने, एक्कसी धेरै खुशी हुने या धेरै दुस्खी हुने , आत्माहत्या गर्ने माध्यमहरु खोजी गर्ने , मुल्यहिन सोचहरु प्रकट गर्ने, सामाजिक संजाल मार्फत आफ्नो अन्तिम ईच्छाहरु सम्प्रेषण गर्ने, टोलाएर एक्लै बस्न मन गर्ने, साथीभाईहरुसङ्ग घुलमिल हुन नचाहन्ने , एकान्तमा बस्न रुचाउने , सरसफाईमा खासै ध्यान नदिने, यौन चाहनामा कमि आउने , गर्ने रुचि घट्ने चिन्तित देखिन्ने , निन्द्रामा डर नलाग्ने सपना देख्ने , अचानक अत्याधिक तौल घट्ने र बढ्ने , खाना खान मन नलाग्ने , जस्ता नैरास्यता झल्काउने लक्षणहरु देखिन्ने गर्दछ्न ।

मानिसहरुले आत्महत्या गरेको तथ्य सार्बजनिक भएको छ । जस अनुसार १ दिनमा लगभग १६ देखि १८ जनाले मृत्यु आत्माहत्याको कारणले भैरहेको छ । रामेछाप जिल्लामा आत्माहत्याको कस्तोअवस्था  छ भनेर हेरौ जिल्ला  प्रहरी कार्यालय रामेछापको तथ्याङ्क अनुसार आर्थिक बर्षा २०७६/०७७ मा विष सेबन गरि ११जना २०७७/०७८ मा  १५ जना ०७८/०८९ मा १४ जना र २०७६/०७७ झुन्डिएर ३९ जना २०७७/०७८ मा ४८ जना २०७८/०८९ मा २९ जनाले आत्माहत्या गरेका छ्न । भने हाम फालेर २०७६/०७७ मा य २०७७/०७८ १ जना रहेका छ्न भने २०७८ /०८९ यस्तो घट्न भएको देखिदैन । आगो लगाई आत्माहत्या गर्नेमा २०७६/०७७ देखिदैन भने २०७७/०७८ मा १ जनाले आत्महत्या गरेको पाईन्छ ।

आत्महत्या गर्न दुरुत्साहन २०७७/०७८ मा १ जना र २०७८/०८९ मा २ जनालाई गरेको देखिन्छ । रामेछापमा सबै भन्दा बढी ११६ जनाले ब्यक्तिहरुले झुन्डिएर आत्महत्या गरेका छ्न् भने दोस्रो स्थानमा विष सेबन गरेर ४० जनाले आत्महत्या गर्नेको संख्या रहेको छ । त्यस्तै गरि हाम फालेर र आगो लगाई १र१ जनाले आत्महत्या गरेको देखिन्छ । यसै गरि २०७६/०७७ देखि २०७८/०७९ सम्मको दोरम्बा शैलुङ्ग गाउँपालिका अन्तर्गत घटेका आत्महत्या गर्ने केशको विश्लेषण गर्दा झुन्डिएर ४ पुरुष र २ महिला गरि ६ जनाले आत्माहत्या गरेको २ महिला र १ पुरुषले विष सेबन गरेर ९ जनाले आत्माहत्या गरेको पाईन्छ ।

आत्महत्या रोकथाम तथा  न्यूनीकरणको लागि समुदाय स्तरमा विभिन्न किसिमको जनचेतना मुलुक कार्यक्रमहरु स्थानीय सरकारले मनोबिमर्शकर्ता ,सामाजिक कार्यकर्ता , स्थानीय ब्यक्तिहरु , स्वास्थ कार्यकर्ता ,नेपाल प्रहरी , सञ्चार माध्यमगरुलाई परिचालन गरि मानसिक स्वास्थ्यको बारेमा मनोशिक्षाको जानकारी गराउनु पर्ने देखिन्छ । किनकि हाम्रो समाजमा मानसिक रोग भनेको नराम्रो रोग हो भनेर समाजले घृणा गर्छ भनेर लुकाएर राख्ने गरिन्छ भने केहिले आफू आर्थिक रूपमा कमजोर भएको कारणले पनि उपचार गर्न सम्म पाउन सकेको हुदैनन् । अर्को कुरा समाजले मानसिक रोग थाहा भएको अबस्थामा नराम्रो दृस्टिकोणले हेर्ने र नराम्रो व्यबहार गर्ने सोचको  कारणले मानिसहरु आत्महत्या र मानसिक स्वस्थ्यको बारेमा खुलेर बोलेको पाईदैन । जुन ब्यक्तिले आत्महत्याको प्रयास गरि रहेको हुन्छ, उसले काहीँ न काहीँ कुनै समयमा आफुलाई आत्माहत्या गर्न मन लागेकोबारे नपत्यारिलो तरिकाले कुरा व्यक्त गरेका हुन सक्छ  । चाहे साथीहरूसङ्ग भेटघाट गरि कुराकानी गर्दा या त सामाजिक संजालको माध्यम प्रयोग गरि गर्न सक्छ । त्यसैले उनिहरुलाई आफ्नो समस्याको बारेमा खुलेर गोपनियताका साथ कुराकनी गर्न पाउने बाताबरणको भरपुर रूपमा सृजना गर्नु पर्छ । जसले गर्दा सम्बन्धीत ब्यक्तिले मेरो नि समस्याहरु सुन्ने ब्यक्ति रहेछ भनेर महसुस गर्नेछ । आफुलाई आउने नियमीत उक्त आत्माहत्याको नराम्रो बिचारलाई परित्याग गरि सहज रूपमा जिउन सकिन्ने छ ।

भबिस्यप्रति आशा जगाउने खालका कुराहरुको अनुभूति दिलाउने , उनिहरुलाई आफ्ना भाबनाहरु व्यक्त गर्न समय दिने , सेवाग्राहीसङ्ग कुराकानी गर्दा उसको भाबनाप्रति संबेदनसिल हुनु जरुरी छ । उसका भाबनाहरु व्यक्त गर्न प्रोत्साहन गर्ने , मानव जिबनको महत्त्वको बारेमा कुराकानी गर्ने , आत्माहत्या उदासिनताको कारणले हुने भएकोले आफ्नो क्षमता भन्दा माथिको कुरा नगर्ने , मनमा धेरै नराम्रो कुराहरु नखेल्ने , तनाव नलिने , आफू जे छ त्यसमा खुशी रहन्ने ,मनमा अनावश्यक बिचारहरु व्यक्त गरेर बस्नु राम्रो भने होईन ।

आत्महत्या एक मनोरोग हो । यसलाई न्यूनीकरण गर्न सकिन्छ । हाम्रो समाजमा मानसिक रोग गरिबीको कारणले लाग्छ भन्ने परम्परा रहेको छ । सामाजिक र आर्थिक पुर्ण रूपमा सम्पन्न हुनेलाई पनि मानसिक रोग लागेको ठूलो संख्यामा रहेको पाईन्छ । नेपालमा हाल बढेको आत्माहत्या गरिब सङ्ग सम्बन्धित देखिदैन । यो नितान्त हाम्रो समाजमा रहेको सामाजिक मनोबिज्ञानसङ्ग सम्बन्धित छ । अबका दिनहरुमा सम्बन्धित सरोकारवालाहरुले समाज रुपान्तरण गर्ने हो भने मानसिक स्वस्थ्यको क्षेत्रमा गम्भीरता पुर्बक सोचेर ग्रामिण भेगमा चेतना मुलुक कार्यक्रमहरु संचालन गर्न सकिएन भने अवका बर्षाहरुमा आत्महत्याको केशले यो भन्दा बिकराल रुप लिन सकिन्छ । हाल रहेको ग्रामीण भेगमा मानसिक क्षेत्रमा जनशक्तिको मुख्य अभाव हो जस्तो लाग्छ । यस्ता खालका समस्याहरुलाई निराकरण गर्ने हो भने अहिले स्वास्थ क्षेत्रमा  कार्यरत जनशक्तिलाई थप मानसिक स्वास्थ्यको बारेमा तालिम प्रदान गरि परिचालन गर्नु पर्ने देखिन्छ । यसरी परिचालन गरिएमा आत्माहत्या न्यूनीकरणमा केही सफलता प्राप्त गर्न सकिन्छ ।

– लेखक दोरम्बा शैलुङ्ग गाउँपालिका (सामी) रोजगार प्रबर्द्धन कार्यक्रम  मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE