मुक्तिनाथ मन्दिरमा भक्तजनको भीड
म्याग्दी – हिन्दु र बोद्ध धर्मावलम्बीहरको साझा धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।
नेपालको छिमेकी देश भारत र तेस्रो मुलुकका भक्तजन तथा पर्यटकहरुको भीडले मुक्तिनाथ मन्दिर परिसर केही दिन यता खचाखच भएको हो । समुन्द्री सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको, निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित सोही मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न थालेको मुक्तिनाथका राज गुरुङले बताउनुभयो ।
विशेष गरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएको छ । सामान्य अवस्थाको तुलनामा दशैं र तिहारपछि मुस्ताङका होटलहरूको अकुपेन्सी दर ८० प्रतिशत भन्दा माथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरू बताउँछन् ।
मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबैभन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको देखिन्छ । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बाक्लो छ ।
पर्यटकहरूको चहलपहल बढे अनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटल तथा अन्य पर्यटन पूर्वाधारको विकास र विस्तार पनि बढ्दै गएको छ । मुस्ताङमा पर्यटन पूर्वाधार विकास र विस्तार तीव्र रूपमा हुँदै गएको छ । जसका कारण मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरूको धार्मिक तीर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE