एउटा गृहकार्यले दिएका सकारात्मक सन्देशहरु !!
परम्परागत गृहकार्य दिने प्रणालीमा सामान्यतया विद्यार्थीहरु त्यसैको मनोबैज्ञानिक बोझमा थिचिएका पाइन्छन् । उनीहरू आफ्नो सिर्जनात्मकता र स्वभाविकता गुमाएका प्रतित हुन्छन् । साथै लामो पर्व बिदामा समेत उन्मुक्त भावले आफन्तजन वा साथीभाइकोमा अथवा अन्य कुनै मनपरेको स्थानको भ्रमणमा जान असमर्थ हुन्छन् ।

-
सविन खनाल
असोज २५ गते बिहीबार काठमाडौँको एक प्रतिष्ठित सामुदायिक माद्यमिक विद्यालयले आफ्नो फेसबुक वालमा एक आकर्षक स्टेटमेन्ट सहित १७ वटा फोटो पोष्ट गर्यो । स्टेटमेन्टमा अंग्रेजीमा लेखिएको थियो ‘टुडे अ रिडर, टुमरो अ लिडर’ । लगत्तै अर्को एउटा अंग्रेजी वाक्य पनि थियो । उक्त अंग्रेजी वाक्यको भावार्थ यस्तो थियो (दशैं बिदाको गृहकार्यको रूपमा तलका मध्ये कुनै एक आख्यान पढी त्यसको समीक्षा लेखेर आफ्नो समूहमा शेयर गर्नुहोस् ।
मुलुकका अधिकांश विद्यालयहरु असोज २६ गतेबाट बन्द भई मङ्सिर ४ गते मात्र खुल्नेछन् । विद्यार्थीहरुले करिब ४० दिनको बिदामा हुने छन् । लामो बिदा पछि मात्रै विद्यालय खुल्ने छ । त्यो अवधिमा विद्यार्थीहरुलाई सिर्जनात्मक रुपबाट अध्ययनमै अव्यस्त पार्ने उद्देश्यले सो विद्यालयले यो बिधि अपननाएको हो भन्नेमा दुबिधा रहेन ।
सरसर्ति हेर्दा यो प्रसंग उल्लेखनीय नलाग्न सक्छ । तर सामुदायिक विद्यालयीय शिक्षा पद्धतिमा आएको नवप्रवर्तनात्मक प्रयासको पाटोबाट हेर्दा बहुआयामिक देखिन्छ माथि उल्लेखित प्रसंग ।
सामुदायिक विद्यालय शिक्षालाई सरकारी श्रोतबाट संचालित असफल अभ्यासको रूपमा निरन्तर प्रचारित गरियो पछिल्लो कालखण्डमा । कतिपय ग्रामीण र दुर्गम क्षेत्रमा विविध कारणले सामुदायिक विद्यालयहरुले अपेक्षित उपलब्धि राष्ट्र सामु प्रस्तुत गर्न नसकेको बिषय सही हो । त्यस्ता विद्यालयहरुको सूचीमा शहरी र कतिपय ग्रामीण क्षेत्रका राम्रै सामुदायिक विद्यालय समेतलाई समावेश गर्ने गरिएको पाइन्थ्यो जनजिब्रो र आमसञ्चार माध्यमहरुमा । तर, त्यसको प्रतिवाद कतैबाट भएन । फाट्टफुट्ट रूपमा कतै कुनै शिक्षामा आवद्ध व्यक्ति र संस्थाहरुबाट भएको प्रतिवादलाई समेत उनीहरूको पेशागत स्वार्थसँग जोडेर हेरियो । परिणामतः सामुदायिक विद्यालयहरु गुणस्तरहिन छन् भन्ने भाष्यले सर्वत्र स्वीकृति पाएको देखियो । वास्तविकता भन्दा धेरै टाढा ।
२०४६ को परिवर्तन पछिको राजनीतिले जन्माएको पार्टीबाद सामुदायिक विद्यालयहरुमा अभेद्य रूपमा पस्यो । माओवादी बिद्रोह, मधेस आन्दोलन र त्यस लगत्तैको जनजाति र थारु आन्दोलनले विद्यालय शिक्षालाई थप विकृत पार्ने प्रयास नगरेको पनि होइन । तर, शिक्षकहरुले आफ्नो कर्तव्य र जिम्मेवारीलाई जीवन्त राखेकै कारण व्यवस्थापन समितिका पदाधिकारीहरुको स्वार्थको टक्करकाबीचबाट समेत सामुदायिक विद्यालयहरु आफ्नो गरिमालाई अक्षुण्ण राख्न सफल भए । यसरी तुलनात्मक रूपमा हेर्ने हो भने पनि नेपाल सरकारका बेतनधारी अन्य जनशक्ति भन्दा अनेकन बैपरित्य परिवेशमा समेत सामुदायिक विद्यालयका शिक्षकहरुले आफूलाई जिम्मेवार प्रमाणित गरेको पाइन्छ ।
माथि उल्लेखित दशैं–तिहार–छ्ठ बिदामा दिइएको गृहकार्य सामुदायिक विद्यालयहरुले आफ्नो शिक्षण सिकाई क्रियाकलापमा अबलम्बन गरेको सिर्जनात्मकताको पछिल्लो कडीका रूपमा लिन सकिन्छ । सतही रूपमा हेर्दा परम्परागत ढंगले दिइने गरिएको गृहकार्य नैं उत्तम भन्ने भनाइ तार्किक लाग्न सक्छ । गृहकार्य दिने पुरानो पद्धतिमा पाठ पिच्छेका विभिन्न प्रकृतिका प्रश्नहरु लेखिदिएर अथवा चिन्हित गरेर जुनसुकै हालतमा ल्याउनुपर्ने जिम्मेवारी सहित विद्यार्थीहरुलाई ह्यापी दशैं, तिहार एण्ड छ्ठ भन्दै बिदा दिइन्थ्यो । त्यो पद्धति आज पर्यन्त कायम छ । तर, काठमाडौँ महानगरको नमूना विद्यालय समेत घोषित माथि उल्लेखित विद्यालयले एक साथ धेरै सकारात्मक सन्देश दिएको प्रतित् हुन्छ ।
यसले शिक्षा आर्जन भनेको केवल पाठ्यक्रम निर्धारित किताबी ज्ञान संग्रह मात्रै होइन भन्ने तथ्यलाई आत्मसाथ गरेको छ । परम्परागत पद्धतिको गृहकार्यले विद्यार्थीहरुमा व्यावहारिक समस्या समाधानको बाटो देखाउँदैन । पुस्तक प्रदत्त पाठ इतरका विषयमा विज्ञता दिन सक्दैन । संभवतः त्यसैले पनि हुन सक्छ हाम्रा विद्यालयीय पुस्तक केन्द्रित पठनपाठनमा पोख्त अहिलेको राजनीतिज्ञ, कर्मचारी, अधिकारकर्मी, पत्रकारको पछिल्लो पुस्ता व्यावहारिक भन्दा सैद्धान्तिक हुनुमा गर्व गर्छन् । जसका कारण मुलुक टिठलाग्दो गरि निरन्तर रूपमा हरेक क्षेत्रमा पछि पर्दै गएको छ । विद्यालय मार्फत व्यावहारिक विज्ञता प्राप्त गर्न असफल भए । विगतका बालबालिकाहरु ! र, अझैपनि त्यो उपक्रम रोकिएको छैन । परिणामस्वरुप उनीहरू बर्तमानको युवा वयमा विदेशमा दोयम दर्जाका काममा जोतिन बाध्य छन् ।
उक्त गृहकार्यमा काठमाडौँ महानगरले यसै बर्ष देखि घोषणा गरेको बुक फ्री फ्राइडेको प्रत्यक्ष प्रभाव रहेकोे देखिन्छ । बुक फ्री फ्राइडेमा बालबालिकालाई पुस्तक नलिई विद्यालय आउने र उक्त दिन उनीहरूले रुची राखेका विविध सीपहरु सिकाउने प्रवन्ध काठमाडौँ महानगर पालिकाले गरेको छ । त्यसका साथै शुक्रबार विद्यार्थीहरुलाई अन्य व्यावहारिक सीपहरुका अतिरिक्त भाषिक सीप, सञ्चार सीपहरु प्नि सिकाउने गरिएको देखिन्छ । यसक्रममा उनीहरूलाई पुस्तकालयमा लैजाने, विभिन्न सांस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक धरोहरजन्य स्थान, भवन आदिको अध्ययन भ्रमण गराउने गरेको समेत देखिन्छ । त्यसैगरी, पाठ्यक्रम निर्धारित पाठ्यसामग्री इतर उपयोगी पुस्तकहरुको समेत अध्ययनमा विद्यार्थीहरुलाई प्रेरित गरिएको पाइन्छ । त्यस्ता पुस्तकको अध्ययनबाट विद्यार्थीहरुमा पढाइप्रति बेग्लै रुचि बढेको बताउँछन् कतिपय शिक्षकहरु ।
माथि उल्लेखित गृहकार्यको प्रकृतिबाट हाम्रा सामुदायिक विद्यालयका बालबालिकाहरुमा कसैले तयार गरेर दिएको सामग्रीको मात्रै होइन आफूलाई सुहाउँदो पाठ्यसामग्रीको खोजी गरेर अध्ययन गर्ने प्रवृत्तिको पनि विकास हुँदै जानेछ । यसले उनीहरूमा खोजी संस्कृतिको विकास गराउनेछ । उनीहरू थाहै नपाई विद्यार्थीबाट सोधार्थी र खोजार्थीको पहिचानवाल समेत बन्नेछन् । यसले वर्तमानमा चलन चल्तीमा रहेको कक्षाकोठामा शिक्षकले पढाइदिने, शिक्षकले नै अध्ययन सामग्री खोजीदिने, शिक्षकले नै विद्यालयमा दिइएको गृह कार्य गर्न सघाइदिने जस्ता पद्धतिको अन्त्यमा समेत सघाउ पुर्याउछ । यसले बालबालिकाहरुमा व्यावहारिक र सीप सिकाइमा सक्रिय रहने बानीको विकास गर्दै जानेछ ।
हरेक सिर्जना व्यक्तिद्वारा गरिएको निरन्तर चिन्तनको बाफिलो बाटो पार गरेर जन्मेको हुन्छ । प्रत्येक सफल सर्जकले चेतानाका सबै द्वारहरुलाई सक्रिय बनाउँदै आलोचनात्मक चिन्तनको चुल्होमा सेकाएर मात्रै आफ्नो सिर्जना बाहिर ल्याएको हुन्छ । र, त्यो उच्चस्तरीय आलोचनात्मक चेत भएको व्यक्ति बनाउने प्रक्रिया यस्ता गृहकार्यहरुले गर्छन् ।
परम्परागत गृहकार्य दिने प्रणालीमा सामान्यतया विद्यार्थीहरु त्यसैको मनोबैज्ञानिक बोझमा थिचिएका पाइन्छन् । उनीहरू आफ्नो सिर्जनात्मकता र स्वभाविकता गुमाएका प्रतित हुन्छन् । साथै लामो पर्व बिदामा समेत उन्मुक्त भावले आफन्तजन वा साथीभाइकोमा अथवा अन्य कुनै मनपरेको स्थानको भ्रमणमा जान असमर्थ हुन्छन् । यसले उनीहरूमा पढाई प्रति नै नकारात्मकता वृद्धि हुने डर रहन्छ ।
परम्परागत गृहकार्य पद्धतिमा अलि कमजोर विद्यार्थीले विद्यालय खुल्ने केही दिन अघि हतार हतारमा अन्य कसैको सहयोगमा आफ्नो गृहकार्य सप्पन्न गरेको पनि पाइन्छ । यसरी थोपरिएको गृहकार्य गर्न नसक्ने कतिपय विद्यार्थीहरु विद्यालय नजाने बहाना गर्न थाल्छन् । यसले उनीहरूमा कामचोर प्रवृत्तिको विकास गराउने डर बढेर एका तिर हुन्छ भने अर्को तिर गृहकार्य नगर्नले उनीहरुको मनोबल कम्जोर हुने जोखिम हुन्छ । तर, उनीहरूलाई आफ्नो समाज, संस्कृति, हाम्रा भूगोल, रितिस्थिति, जीवन शैली, भाषा, राजनीति ,साहित्यका साथै अन्तर्राष्ट्रिय जगतका विविध विषयलाई उनीहरूकै नजरबाट नियाल्ने अवसर बन्न सक्छ गृहकार्यको यो नमुना ।
हाम्रा बालबालिकाहरु नयाँ प्रविधिमा पोख्त छन् ! त्यहाँबाट उनीहरूले प्रविधि लाई हाम्रा कतिपय सकारात्मक परम्परागत मान्यतालाई विश्वसँग जोड्न सक्छन् । तसर्थ पर्व बिदालाई पीडा बिदा बन्न नदिने प्रयास सराहनीय छ ।
यसरी काठमाडौँको एक सामुदायिक विद्यालयले दशैं तिहारको लामो बिदामा आफ्ना विद्यार्थीहरुलाई दिएको केवल एक गृहकार्यले अनेकौँ सकारात्मक सन्देशहरु दिन सक्दो रहेछ । चिन्तन पद्धतिमा आएको यो परिकृति पद्धतिलाई प्रणाम !
लेखक एक शैक्षिक व्यत्तित्व हुनुहुन्छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE