बुद्ध एयर प्रकरण : पाइलट शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक
१४ आश्विन, काठमाडौँ – प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका बुद्ध एयरका पाइलटलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ । क्याप्टेन आङ्गेलु शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाइएको हो ।
नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानविन गरिरहेकाले पाइलटलाई नियमानुसार ग्राउन्डेड गरिएको बताउनुभयो। ‘जहाज उडानको समयमा कुनै समस्या आएमा क्यानले पाइलटमाथि पनि छानविन गर्ने भएकाले केही समय उहाँको लाइसेन्स प्रयोग नभएको हो,’ उहाँले भन्नुभयो ।

क्यानका अनुसार छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छैनन् । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले छानविनका क्रममा तथ्य–प्रमाण सबै जुटाउनु पर्ने भएकाले क्याप्टेन शेर्पाको लाइसेन्स केही दिनलाई होल्ड भएको बताउनुभयो। ‘यसरी भयो होला भनेर अनुमानका आधारमा हुँदैन, प्रमाणका आधारमा निर्णय लिनुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘क्यानले अन्तर्राराष्ट्रिय मापदण्ड अपनाएर छानविन प्रक्रिया पूरा गर्नुपर्छ ।’
तर प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घन्टाभित्रै उडान अनुमति दिइसकेको थियो । सो विमान अहिले पनि पूर्ववतरुपमा यात्रु ओसारिरहेको छ । गत सोमबार बिहन ८:३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर अवतरणमा आएको थियो ।
जहाजमा ६८ वयस्क, ५ बच्चा र चालक दलका ४ जना हुनुहुन्थ्यो । आन्तरिक उडानमा पहिलो नम्बरमा रहेको बुद्ध एयरमा समय–समयमा समस्या आइरहेको भए पनि कम्पनीले यसलाई गम्भीर रुपमा नलिएको जानकारहरु बताउँनुहुन्छ । समस्या आएको जहाजको छानविन रिपोर्ट नआउँँदै जहाज पुनः उडाउनुले पनि कम्पनी जिम्मेवार नदेखिएको भनेर आलोचना भएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE