Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

अमेरिकामा हिमपात, जनजीवन कष्टकर

काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। हिमपातसँगै उत्पन्न प्रतिकूल मौसमका कारण अमेरिकाभित्र र बाहिर हुने पाँच हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन्।

राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको छ। यो रोड आइल्यान्डको इतिहासकै सबैभन्दा ठूलो हिमपात हो । यो हिमपातले सन् १९७८ को रेकर्ड समेत तोडेको छ। न्युयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ परेपछि न्युयोर्क राज्यले यात्रा गर्न असम्भव भएको भन्दै चेतावनी दिएको छ।

भीषण आँधी र हिउँका कारण न्युजर्सी र म्यासाचुसेट्ससहितका पूर्वी तटीय राज्यहरूमा ६ लाखभन्दा बढी घर र व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ। म्यासाचुसेट्सका गभर्नर मौरा हेलीले दक्षिण–पूर्वी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाउँदै सुरक्षित रहन आग्रह गरेकी छन्।

न्युयोर्कको ला गार्डिया विमानस्थलबाट हुने ९८ प्रतिशत र जेएफकेबाट हुने ९१ प्रतिशत उडानहरू रद्द गरिएका छन्। बाक्लो हिउँ र तीव्र हावाका कारण सडकमा सवारी साधन चलाउन पूर्ण रोक लगाइएको भए पनि केही क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाइएको छ।

उत्तर क्यारोलिनादेखि मेन राज्यसम्म चेतावनी जारी गरिएको छ। हिमपात मंगलबार बिहानसम्म जारी रहने र केही तटीय क्षेत्रमा थप १ देखि २ फिटसम्म हिउँ जम्न सक्ने मौसमविद्को पूर्वानुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE