आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह
२४ बैशाख, काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस, नेपालको पहिलो छापा पत्रिका गोरखापत्र दैनिकको १ सय २१ औंँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५९ औंँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उहाँले मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक न्यायसहितको लोकतन्त्र, शान्ति र समृद्धिको कामलाई अझ सबल बनाउने काममा आगामी दिनमा आमसञ्चारमाध्यमले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार प्राप्तिको आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालको आमसञ्चार जगत्ले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले संविधानमा उल्ल्खिित पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायत सूचना र आमसञ्चारसँग सम्बन्धित सबै व्यवस्थाको कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको स्मरण गराउनुभयो ।
“‘समृद्ध नेपाल, सुुखी नेपाली’ मुलुकको राष्ट्रिय संकल्प हो, आमसञ्चारमाध्यमहरुले सोही संकल्प पूरा हुने गरी ‘समृद्धिका लागि सञ्चार’ भन्ने अभियानलाई सार्थक बनाउने छन् भन्ने मैले विश्वास लिएको छु”, सन्देशमा भनिएको छ, “सरकारले आमसञ्चार क्षेत्रलाई अझै सम्मानित, मर्यादित, जिम्मेवार र गरिमामय बनाउन चाहेको छ । त्यसका लागि आवश्यक नीतिगत, कानूनी र संस्थागत संरचनाहरुको रुपान्तरणलाई समयसापेक्ष बनाउन सरोकारवाला सबैको साथ र सहयोगको सदैव अपेक्षा राखेको छ ।”
पत्रकारको दक्षता अभिवृद्धिका लागि ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्ने सोच, संकल्प र योजना अघि सारिएको जनाउँदै उहाँले प्रेस पास, नवीकरणलगायत कामलाई सहज बनाउन सम्बन्धित जिल्ला हुुलाक कार्यालयले नै काम गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
सन्देशमा कोभिड संकटले मारमा परेका सञ्चारगृहका लागि सहुलियत व्याजदरमा कर्जा प्रवाह, सञ्चारकर्मीलाई बीमाको व्यवस्था, लोककल्याणकारी विज्ञापन, अनुदान सहायतालगायत कामलाई निरन्तरता दिएर सरकारले आमसञ्चार क्षेत्र र सञ्चार उद्यमीको व्यावसायिक हित र अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख छ ।
सरकारका प्रवक्ता गुरुङले कोभिड १९ संकटका यस घडीमा फिल्डमै डटेर जनताको जीवन रक्षामा लागेका सम्पूर्ण सञ्चारकर्मीप्रति कृतज्ञता ज्ञापन गर्दै सबै सञ्चारकर्मीको उत्तरोत्तर प्रगति र समृद्धिका लागि शुुभकामना व्यक्त गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE