Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कोरोना खोप : २ करोड १८ लाख नागरिकलाई लगाइने

१७ फागुन
काठमाडौँ –
कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड १७ लाख नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने महत्वाकांक्षी योजना ल्याएको छ ।

मन्त्रालयले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकसँग अन्तरसंवाद गर्दै खोप अभियानलाई सफल बनाउन देशव्यापी रूपमा सकारात्मक प्रचारसहितको अभियानमा सहभागी हुन आग्रह गरेको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले नागरिकलाई जोखिमबाट मुक्त गराउने उद्देश्यसहित ठूलो मिहिनेत गरेर खोप ल्याउन सफल भएको स्पष्ट पारे । मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रियालाई पारदर्शी बनाइने र कुनै प्रकारको अनियमितता हुन नदिने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव लक्ष्मण मैनालीले तीन वटै सरकारको समन्वयमा भ्याक्सिन अभियानलाई छिटै देशव्यापी बनाउँदै नागरिक स्तरमा सरकार रहेको प्रत्यक्ष अनुभूति दिइनेगरी काम गर्ने बताए ।

मन्त्रालयले कोरोनाविरुद्धको अभियान तथा खोप अभियान सफल बनाउन आवश्यक पर्ने उपायहरूका बारेमा सम्पादकहरूसँग समेत राय र सुुझाव लिएको थियो । सम्पादकहरूले खोप अभियानलाई छिटोभन्दा छिटो आम नागरिकसमक्ष पुर्याउनुपर्ने, पारदर्शिता अपनाउनुपर्ने, भ्याक्सिन अभियान सफल बनाउन स्पष्ट खालका नीति योजना तथा कार्यक्रम बनाउनुपर्ने तथा मिडियामैत्री नीतिसमेत अख्तियार गर्नुपर्ने सुझाव दिएका थिए ।

यो खबर राजधानी दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE