Date
मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026

मधेशमा क्रिकेटको उत्सव: जय ट्रॉफीको भव्य समुद्घाटन जनकपुरमा

दिनेश सहनी

जनकपुरधाम । नेपाल क्रिकेट संघ (CAN) को आयोजनामा राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला, जनकपुरमा आजदेखि जय ट्रॉफी (JAY TROPHY) को भव्य समुद्घाटन गरिएको छ। यस बहुप्रतीक्षित क्रिकेट प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले गर्नुभयो।

समारोहमा जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डू पाण्डेय, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मुख्यमन्त्री सतीश कुमार सिंहले उद्घाटन मन्तव्यको क्रममा जय ट्रॉफी जस्तो प्रतियोगिताले क्षेत्रीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै मधेशमा क्रिकेटको विकास र विस्तारमा योगदान पुर्‍याउने बताउनुभयो। उहाँले खेलकुदले युवा शक्तिलाई सकारात्मक दिशामा अघि बढाउने मात्र नभई प्रदेशको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउने विश्वास व्यक्त गर्नुभयो।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले जय ट्रॉफीको माध्यमबाट स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा प्रवेशको अवसर मिल्ने बताउँदै खेलकुदमार्फत सामाजिक ऐक्यबद्धता र सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको जानकारी दिनुभयो।

उद्घाटन कार्यक्रममा सांस्कृतिक झाँकी, परम्परागत मधेशी नृत्य र रंगशालाको भव्य सजावटले उपस्थित सबैलाई आकर्षित गरेको थियो। प्रतियोगितामा देशभरका उत्कृष्ट क्रिकेट टोलीहरूले सहभागिता जनाउनेछन्।

जय ट्रॉफी मधेश प्रदेशकै खेलकुद इतिहासमा एउटा कोसेढुंगा सावित हुने विश्वास राखिएको छ। यसले क्षेत्रीय खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन प्रेरित गर्दै, मधेशलाई क्रिकेटको एक प्रमुख केन्द्र बनाउने आशा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE