Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

क्रिस्टियानो रोनाल्डोले तिर्ने भए १ करोड ८८ लाख यूरो जरिवाना

ऐजेन्सी-कर छलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न सहमत भएका छन् । म्याड्रिडस्थित एउटा अदालतसामु उक्त रकम तिर्न सहमत भएका हुन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नु नपर्ने भएको छ । त्यसअघि उनी सञ्चारमाध्यमको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका थिए । पाँच पटकसम्म युरोपको बालन डोर अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन् ।

यी स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल म्याड्रिड फुटबल क्लबका लागि खेल्दा विदेशी कम्पनीमा खाता खोली कर छलेको आरोप लगाइएको थियो । रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो । त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट जानाजान करछली भएको बताएका थिए । तर रोनाल्डोका वकिलहरूले नियतवश कर छलेको नभई स्पेनी कानून बारेको असमझदारीका कारण त्यस्तो हुन गएको बताएका छन् । रोनाल्डोले सन् २००९ मा बलात्कार गरेका आरोपमा अर्को मुद्दा पनि झेलिरहेका छन् । उनले यो आरोपलाईअस्वीकार गर्दै आएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE