अरुण तेस्रो जलविद्युत् आयोजना : अधिकांश कामदार भारतीय
काठमाडौं – ६० वर्षअघि कोसी ब्यारेज बनाउँदा नेपालमा उद्योग धन्दाको विकास भएको थिएन। न त यहाँ टिन थियो, न सिमेन्ट र रड उद्योग नै। निर्माणसँग सम्बन्धित जनशक्तिसमेत पाइँदैनथ्यो।
त्यसैले कोसी ब्यारेज बनाउने जिम्मा लिएको भारत सरकारले नेपालमै पाइने प्राकृतिक सम्पदा बाहेकका औद्योगिक उत्पादन र जनशक्तिसमेत सबै आफ्नै उत्पादन प्रयोग गरेको थियो। अहिले संखुवासभामा भारत सरकारकै स्वामित्व रहेको भनिएको सतलजले बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको जिम्मा लिएको छ। तर ६० वर्षपछि पनि आयोजनालाई आवश्यक सामग्रीको लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ। ठूला मेसिनदेखि आयोजनाका लागि आवश्यक धेरै सामान भारतबाटै आयात भइरहेका छन्।
केही निर्माण सामाग्री नेपालकै प्रयोग भए पनि त्यहाँका कर्मचारी, कामदारका लागि प्रयोग हुने खाद्य सामाग्रीलगायत सामग्री भारतबाटै आयात हुन्छन्। नेपालका उद्योगी, व्यवसायी युवा तथा योजनास्थलका स्थानीय आयोजना निर्माणमा आफ्नो सहभागिता खोजिरहेका छन्।
केही समयअघि आयोजनाले विराटनगरमा उद्योगीसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो। कार्यक्रममा नेपालका उद्योगीले नेपालमा बन्न लागेको परियोजनामा नेपालकै उत्पादन प्रयोग हुनुपर्ने माग राखेका थिए। ‘हामी ठूला उपकरणबाहेक आवश्यक रड, सिमेन्ट, पाइपलगायत नेपाली उद्योगबाटै सबै व्यवस्थापन गर्न सक्षम छौं’, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले भने, ‘भारतबाट सामाग्री ल्याउँदा भन्सार छुट दिने सुविधा त होला, तर यहींका वस्तु प्रयोग हुनुपर्छ।’
उनले नेपाली गौरवको आयोजनामा नेपालकै सहभागिता न्यून हुनु दुःखद् भएको बताए। उनले अहिले नेपाली निर्माण सामाग्री प्रयोग भइरहे पनि पछिसम्म नेपाली उद्योगलाई नै प्राथमिकता दिन आग्रह गरे।
भारतबाट ढुवानी गर्दा धरान–धनकुटा हुँदै लामो यात्रा तय गरेर आयोजनास्थलसम्म पुर्याउनुभन्दा नेपालकै उत्पादनलाई प्रयोग गरे ढुवानी लागत तथा सामानको क्षयिकरण पनि कम हुने व्यवसायीको तर्क छ। अरुण तेस्रो परियोजनालाई पूर्वी नेपालको भाग्य कोर्ने सीमित परियोजनामध्ये एक मानिन्छ।
जोगवनी–किमाथांका नाका र अरुण परियोजनाले समग्र प्रदेश १ लाई नै धनी बनाउने अपेक्षा गरिएको छ। तर, त्यही परियोजनामा नेपाली सामान तथा श्रमको प्रयोग नहुनुले चिन्ता प्रदेश १ का व्यापारी तथा स्थानीयलाई थपिएको छ। अरुण तेस्रोका कामदारका लागि प्रयोग हुने खाद्य सामग्रीसमेत भारतबाटै आयात हुने गरेको छ। सामान्य खाद्य सामग्री तथा तरकारीबाहेक प्रायः भारतबाटै ढुवानी हुने गरेको छ। यसरी आउने सामग्री विभिन्न ठाउँमा बसेका चेकपोस्ट र सुरक्षाकर्मीले समेत वास्ता गर्दैनन्। यसका कारण के र कति परिमाणमा भित्रिरहेको छ भनेर पनि थाहा हुँदैन।
परियोजनामा कार्यरत जनशक्तिका लागि हप्ताको पाँच सय किलोग्राम तरकारी प्रयोग हुन्छ। व्यापारी धिरज चौधरीले त्यहाँका लागि तरकारी आपूर्ति गर्दै आएका छन्। सस्तो हुने हुँदा प्रायः तरकारी संखुवासभा बाहिरबाटै आउने गरेको उनी बताउँछन्।
निर्माणाधीन अरुण तेस्रो परियोजनामा स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग हुन आवश्यक रहेको संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य भनाइ छ। नेपालमा उत्पादन भएका कतिपय रड, सिमेन्ट लगायतका कच्चा पदार्थ अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादन छन्।
यस्ता वस्तु नेपालकै प्रयोग गर्नुपर्ने माग अयोजनामा राख्दा निर्माण पक्षले नेपालकै लगानी बोर्डसँग माग राख्न सल्लाह दिएको संघका अध्यक्ष शाक्यले बताए। नेपाली व्यवसायी र व्यापारीले उपलब्ध गराउन नसक्ने सामान मात्र भारतबाट ल्याउनुपर्ने शाक्य बताउँछन्।
स्थानीय क्षेत्रमा आयोजना सञ्चालनमा आए पनि नेपालको बजारमार्फत निर्माण सामग्री, उपभोग्य वस्तु प्रयोग नगर्ने हो भने, यहाँका व्यापारी र व्यवसायीले लाभ लिन नसक्ने उद्योग वाणिज्य संघ संखुवासभाका द्धितीय उपाध्यक्ष कृष्णभगत प्रधानले बताए। अन्नपूर्णपोष्टबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE