चारै राजदूत अनुमोदित
काठमाडौं – संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतका नाम आइतबार सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदित हुनेमा भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल छन् ।
राष्ट्रपतिले संविधानअनुसार उनीहरूलाई राजदूत नियुक्त गरेपछि सम्बन्धित मुलुकमा नाम पठाइनेछ । ती मुलुकका सरकारबाट एग्रिमो आएपछि उनीहरू जिम्मेवारी सम्हाल्न जानेछन् ।
सुनुवाइका क्रममा समिति बैठकमा भारतका लागि प्रस्तावित आचार्यले दुई देशबीच खुला बोर्डर भए पनि मन खुला नरहेको बताए । सांसदका जिज्ञासाको जवाफ दिँदै उनले दुई देशबीचका आशंका चिरेर अघि बढ्नुपर्ने औंल्याए । ‘नेपाल–भारत बीचमा खुला बोर्डर छ तर मन खुला छैन,’ उनले भने, ‘दुई देशबीच कुनै वैमनस्य छैन, प्रतिद्वन्द्विता पनि छैन, घनिष्ठ छौं तर कति खुलस्त छौं रु त्यो हेर्नुपर्छ । नेपालको समृद्धि र आर्थिक विकासका लागि भारतसितको सम्बन्ध राम्रो हुनुपर्छ । आपसमा रहेका आशंका चिर्नुपर्छ ।’
उनले नेपालको चीनसँग सम्बन्ध राम्रो हुनुलाई भारतसँगको सम्बन्ध कटौतीका रूपमा बुझ्न नहुने उल्लेख गरे । राजदूतका रूपमा आफूले यही सन्देश भारतीय सरकार र त्यहाँको विदेश मन्त्रालयलाई दिने आचार्यले बताए ।
‘राजदूतले आफ्नो देशको अरू मुलुकसँगको सम्बन्ध कुनै देशविरुद्ध होइन भन्ने मनाउन र बुझाउन सक्नुपर्छ,’ उनले भने, ‘हाम्रो चीनसँगको सम्बन्धले भारतसँगको सम्बन्ध कटौती हुन्न ।’
उनले भारतसँग सीमा विवाद मात्र नभई भारतीय सहयोगका आयोजना कार्यान्वयनमा समेत समस्या रहेको उल्लेख गर्दै शिष्ट ढंगले आशंका चिरेर विश्वासको सम्बन्ध बढाउनुपर्ने बताए ।
‘हामीबीच सीमा र डुबानका समस्या छन् । भारतीय सहयोगका आयोजना कार्यान्वयनमा समस्या छन्,’ आचार्यले भने, ‘त्यसबारे शिष्ट तरिकाले खुला रूपमा कुरा राख्न सक्नुपर्छ । आशंकालाई विश्वास निर्माणमा लैजानुपर्छ ।’ कान्तिपुरबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE