Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

संसदमा जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीति हुनसक्दैन भनेपछि…..

काठमाडौँ-शनिबार राति रुकुम पश्चिममा दलित युवाले कथित उपल्लो जातिकी युवतीसँग बिहे गर्न जाँदा स्थानीयको आक्रमणमा परी तीन युवाले ज्यान गुमाएको घटना मंगलबार प्रतिनिधिसभामा प्रवेश र्गयो । विपक्षी सांसदहरुले घटनालाई ढाकछोप गरी दोषी लुकाउन सत्ताधारी दल र त्यसका नेताहरुले षड्यन्त्र गरेको आरोप लगाए । बैठकमा रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीति हुनसक्दैन भनेपछि प्रतिपक्षी कांग्रेसका सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाए ।
रुकुम पश्चिममा भएको घटनामा युवतीसँग विवाह गर्न गएका जाजरकोटका नवराज विक र उनलाई सहयोग गर्न गएका टीकाराम सुनार र गणेश बुढाको केटी पक्षको आक्रमणमा परेर मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही रहेका छन् । सोही घटनालाई लिएर प्रतिनिधिसभामा प्रतिपक्षी दल कांग्रेस र समाजवादीका नेताले सुरुमा समय मागेका थिए । कांग्रेसका केही सांसदलगायतले बोलेपछि नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा बोल्नुभएको थिए ।
शर्माले घटनाको सत्यतथ्य सार्वजनिक गर्न रुकुम र जाजरकोट जिल्ला प्रशासन कार्यालयले सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । उहाँले घटनाको बारेमा जानकारी दिँदै गर्दा कांग्रेसका सांसदले आपत्ति जनाएका थिए । उहाँले ११ जनाले भेरी नदीमा हाम फालेको, ५ जना पौडी खेलेर तैरिएको र ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता भएको जानकारी दिनुभयो । उहाँले रुकुममा छुवाछुतका घटनामा राजनीतिकरण हुन नसक्ने भनेपछि कांग्रेसका सांसदले विरोध जनाएका हुन ।
कांग्रेस सांसदहरुले रुकुम चौरजहारीको घटनामा पूर्वगृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका थिए ।
विपक्षी सांसदहरूले बोल्न अवरोध गरेपछि शर्माले आफू रुकुमका सबै जनताको प्रतिनिधि भएकाले बोल्न पाउनुपर्ने माग राख्नु भएको थियो । शर्माले आफू जनताको प्रतिनिधि भएको, सभामुखले दिएको समयमा बोल्न पाउने अधिकार आफूसँग भएको भन्दै आक्रोशित हुनेभएको थियो ।
कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले उक्त घटनामा पूर्व गृहमन्त्री शर्मा र बहालवाला मन्त्री तथा पूर्वगृहमन्त्री शक्ति बस्नेतले राजनीतिक रंग दिइरहेको बताउनु भयो । स्नेहीले शर्मा र बस्नेतलाई लक्षित गरेर आरोप लगाएपछि नेकपाका सांसदहरूले आपत्ति जनाएका थिए । उनीहरूले स्नेहीको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए । कान्तिपुरबाट

WRITE COMMENTS FOR THIS ARTICLE