Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सञ्चालन नहुँदै जयनगर–कुर्था रेल्वे ट्रयाकका १८ हजार क्लिप चोरी

२५ मंसिर
काठमाडौं –
जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम गर्ने काम गर्छ ।

जनकपुरस्थित रेल विभागका साइट इन्चार्ज विनोद ओझाका अनुसार सरकारले रेल ल्याउनुअघि र पछि पनि क्लिप चोरी भइरहेका छन् ।

२ असोजमा भारतबाट रेल ल्याउँदा ठाउँठाउँमा नयाँ क्लिप जडान गर्नुपरेको उनले बताए । त्यतिखेर चोरी भएका करिब पाँच हजार नयाँ क्लिप जडान गरिएको ओझाले बताए ।

‘हामीले अनुगमन गर्दा कुर्थादेखि जयनगरसम्म करिब १८ हजार थान क्लिप चोरी भएको पाइयो । स्थानीय बालिबालिका र ट्यापे केटाहरूले चोर्ने गरेको पाइयो,’ ओझाले भने, ‘चोरी भएका करिब पाँच हजार नयाँ क्लिप जडान गरेर गत असोजमा नेपाली रेल जनकपुरसम्म ल्याएका हौँ ।’

एउटा क्लिपको तौल एक किलो हाराहारीको हुन्छ । बालबालिकाहरूले चोरेर कवाडीलाई बेच्ने गरेको आशंका रेल विभागको छ । रेल्वेका कर्मचारीले दुईपटक क्लिप चोरिरहेको अवस्थामा केटाकेटीहरूलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीले उनीहरूलाई सम्झाइबुझाई अभिभावकसँग अबदेखि क्लिपलगायतका कुनै सामान चोरी गर्दैनौँ भन्ने कागज गराएर छाडेको थियो । क्लिप मात्रै होइन, परबाहा स्टेसनमा रहेका दुईवटा बिजुलीका पोल, स्टेसन घरको झ्याल तथा ढोकामा लगाइएका फलामका ग्रिलसमेत उखेलेर चोरी भएका छन् ।

कुर्था स्टेसनमा यात्रुहरूलाई बस्नका लागि बनाइएको सिमेन्टको बेन्च तथा स्टेसनमा लगाइएको टायलमा क्षति पु¥याइएको ओझाले बताए । उनका अनुसार लेभल क्रसिङ ९बाटो काट्न०का लागि विभिन्न स्थानमा बनाइएका फाटकका ब्यारियरसमेत उखेलेर क्षतिग्रस्त बनाइएको छ ।

रेल्वे ट्र्याकदेखि स्टेसन घरसम्मको पूर्वाधार भारतीय निर्माण कम्पनी इकोनले गरेको थियो । विभागलाई अझै हस्तान्तरण गरिनसकेका कारण चोरी भएका र भत्काइएका संरचना पुनर्निर्माणको जिम्मेवारी भारतीय निर्माण कम्पनीकै भएको इन्चार्ज ओझाले बताए ।

भारतीय कम्पनीले पुनर्निर्माणको काम गरिरहेको उनको भनाइ छ । चोरी भएका ठाउँमा नयाँ क्लिप राख्ने काम अन्तिम चरणको रहेको ओझाले बताए । उनका अनुसार क्लिपका कारण रेल सञ्चालनमा तत्काल असर पर्दैन ।

‘अधिकांश ठाउँमा नयाँ क्लिप राखिसकेकाले रेल चलाउन ठूलो समस्या हुँदैंन,’ उनले भने, ‘किनभने चार–पाँच दिनअघि मात्रै कुर्थादेखि भंगहासम्म निर्माण भइरहेको ट्र्याकका लागि ब्लास्ट (गिटी) बोकेर ९६ बोगी भएका दुईवटा माल रेल अहिलेकै ट्र्याकमा आउँदा कुनै समस्या भएन ।’यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE