महाकाली नदीको जल सतह खतराको संकेत पार

६ असार, काठमाडौँ – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको संकेत पार गरेको छ ।
डडेल्धुराको परशुराम धाममा रहेको परशुधाम गेज स्टेसनका अनुसार महाकाली नदीको जलस्तर ७ मिटर रहेको छ । सामान्यतया ६.८० मिटर भएमा खतराको तह मानिन्छ ।
महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ ।
विशेषगरी डडेल्धुराको परशुराम नगरपालिका–६ र ७ को तटीय क्षेत्रका साथै कञ्चनपुरको महाकाली छेउछाउका वस्तीमा जोखिम बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको हो । महाकाली नदीमा जलस्तर बढेसँगै महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना समेत जारी गरेको छ ।
महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुराम धाम जोखिममा परेको छ । महाकाली नदीमा जलस्तर बढेपछि जिल्लाको परशुराम नगरपालिका—५ को महाकाली नदी किनारस्थित यस मन्दिर डुबानमा पर्न थालेको परिगाउँ प्रहरी चौकीले जानकारी दिएको छ ।
आइतवार बिहानसम्म महाकालीको जोखिम स्तर बढेको भए पनि दिउँसोदेखि वर्षा रोकिएपछि पानीको तह केही घटेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE