फुटपाथमा हिडिरहेकी महिलाको ज्यान लिने कार चालक रिहा
श्रावण—३, काठमाडौं
रातभर मदिरा पिएर सडक दुर्घटना गराइ एकजना महिलाको ज्यान लिने काठमाडौंको बूढानीलकण्ठ हाइटका एक युवकलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गरेको छ । मदिरा सेवन गरेर लठ्ठ भएका उनले चलाएको कारले २०७६ मंसिर २८ गते बिहानै बूढानीलकण्ठको फुटपाथमा हिँडिरहेकी गोरखाकी एकजना महिला लीला देवकोटालाई कुल्चिँदा उनको घटन स्थलमा नै ज्यान गएको थियो । देवकोटाको ज्यान जाने गरी दुर्घटना गराउने २१ वर्षीय पृथ्वी मल्ललाई सर्वोच्च अदालतले बुधबार ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । मल्लले हाँकेको बा १४ च ६१२३ नम्बरको अनियन्त्रित कारले बूढानीलकण्ठ स्कुल गेटको फुटपाथमा चढेर ठक्कर दिँदा गोरखा घर भई बूढानीलकण्ठमा बस्दै आएकी लीला देवकोटाको ज्यान गएको थियो । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले अभियुक्त मल्ललाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो । दुईजना न्यायाधीशले मल्ल गम्भीर मानसिक रोगीका साथै दमबाट पनि ग्रस्त भएको ठहर गरेर धरौटीमा छोड्ने विवादास्पद आदेश दिएका हुन् ।
’यसमा प्रस्तुत निवेदक हाल सिभियर डिप्रेसन रहेको तथ्य नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतको लगनखेलस्थित मानसिक अस्पतालको मिति २०७६ फागुन ३० को ओपिडी बुक तथा सोही अस्पतालको २०७७ असार २८ गतेको डिस्चार्ज समरीबाट देखिन्छ । निज दमको बिरामी रहेको भन्ने चिरायु अस्पतालको मेडिकल रिपोर्टहरूबाट समेत देखिन्छ,’ आदेशमा लेखिएको छ, ’निज भागी जाने वा प्रमाण लुप्त गर्ने अवस्था नदेखिएकाले निजलाई थुनामा राखी पुर्पक्ष गर्ने काठमाडौं जिल्ला अदालतको मिति २०७६ पुस २३ को आदेश र त्यस आदेश सदर गर्ने उच्च अदालतबाट फागुन १५ गतेको आदेश बेरितको देखिएकोले बदर गरिएको छ । अब निवेदक प्रतिवादीलाई ५ लाख धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू ।’ यी दुई न्यायाधीशले मल्ललाई छोड्नका लागि कोरोना महामारीको समेत बहाना बनाएका छन् । कोरोना भाइरस महामारीका बेलामा दमका बिरामी ’उच्च जोखिमयुक्त समूह’ मा पर्ने भएकाले थुनामा राख्न उचित नहुने तर्क आदेशमा गरिएको छ ।
तर मल्ल घटनाको ५ दिनअघि मात्रै अध्ययन बिदाका क्रममा अमेरिकाबाट नेपाल आएका थिए । सर्वोच्च अदालतले उनी फेरि अमेरिका फर्केर जाने सम्भावनालाई बेवास्ता गर्दै उनी भाग्ने सम्भावना नहरेको व्याख्या गरेको छ । आरोपित मल्ल विमानस्थलबाट वा सडकबाट भागेर जाने सम्भावना भएको अवस्थामा समेत विदेश जान रोक लगाउने वा राहदानी रोक्का राख्नुपर्ने हुन्छ । तर अदालतले त्यसबारेमा केही नबोली उनलाई चोख्याउने गरी आदेश दिएको हो । सुरुमा यो घटना ढाकछोपमा लागेको प्रहरीले चर्को दबाबपछि मल्लविरूद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरेर सरकारी वकिलमा प्रतिवेदन पठाएको थियो ।
सरकारी वकिल कार्यालयले मल्ललाई लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएकोले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १ सय ६१ को उपदफा २ बमोजिम ३ देखि १० वर्ष कैद सजाय मागसहित जिल्ला अदालतमा मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतले मल्ललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशपछि मल्लले उच्च अदालत पाटनमा रिट हालेका थिए । उनले त्यहाँ पनि साधारण तारेखमा छाड्न भनेका थिए । तर उच्च अदालतले उनको माग नसुनी पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । तर सर्वोच्चले विवादित आदेश दिँदै मल्ललाई धरौटीमा छाड्न भनेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE