Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

तडकभडक छोडेर समाजसेवामा रारा सैंजु, जन्मदिनमा धनुषाका ६२ विद्यार्थीलाई सहयोग

धनुषा । धनुषा जिल्लाको श्री आधारभूत विद्यालय धनौजी लालगढमा अध्ययनरत ६२ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ट्रयाकसुट तथा छालाको जुत्ता वितरण गरिएको छ। मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सहयोग कार्यक्रम सम्पन्न भएको हो।

विगत लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेकी समाजसेवी रारा सैंजु (रेखा) को जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। तडकभडक र अनावश्यक खर्च गरेर जन्मदिन मनाउने संस्कृतिलाई निरुत्साहित गर्दै विपन्न तथा ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ।

कार्यक्रमअन्तर्गत विद्यालयका ६२ जना विद्यार्थीलाई ट्रयाकसुट, छालाको जुत्ता, कपि, कलमलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। सहयोग पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए भने अभिभावकहरूले पनि सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्।

कार्यक्रमका संयोजकका अनुसार रारा सैंजुको नेतृत्वमा विगतदेखि नै देशका विभिन्न दुर्गम क्षेत्रमा राहत, शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित परोपकारी अभियान सञ्चालन हुँदै आएको छ। बाढी, पहिरो, भूकम्पजस्ता विपद्का बेला राहत वितरणदेखि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यमा समेत संस्थाहरू सक्रिय रहेको जनाइएको छ।

त्यस्तै, दुर्गम बस्तीमा स्वास्थ्य शिविर सञ्चालन, खाद्यान्न वितरण तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने अभियान पनि निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

विद्यालयका प्रधानाध्यापकले सहयोगी संस्थाहरू तथा संरक्षक रारा सैंजुप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले आर्थिक अभावका कारण विद्यालय आउन कठिनाइ भोगिरहेका विद्यार्थीलाई ठूलो सहयोग पुग्ने बताए। उहाँले जन्मदिनलाई सामाजिक सेवासँग जोडेर गरिएको कार्य अनुकरणीय रहेको उल्लेख गर्नुभयो।

 

WRITE COMMENTS FOR THIS ARTICLE