Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

मलेसिया पछि थप तीन देशसँग श्रम सम्झौताको तयारी

टिकट र भिसा रोजगारदाता कम्पनीले नै बेहोर्ने व्यवस्था कागजमा मात्र

काठमाडौँ –नेपाली कामदारको हित हुने गरी मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्ने तयारी भइरहेको जनाएको छ ।  कतार, ओमान र संयुक्त अरब एमिरेट्स सँग श्रम सम्झौता गर्न लागिएको श्रम मन्त्रालयको भनाइ छ ।

नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला गरे पनि पहिलो चरणमा बढी कामदार जाने १२ वटा देशमा उचित पारिश्रमिक र सेवा सुविधासहितको श्रम सम्झौता गरिने सरकारको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने व्यवस्था लागु गरे पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकिरहेका बेला श्रम सम्झौतामार्फत् नै त्यसलाई व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

सोमवार मलेसियासँग यस्तै विषय सुनिश्चित गर्ने गरी सम्झौता गरेको सरकारले थप तीनवटा देशसँग पनि श्रम सम्झौता गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनुभयो । उहाँले आगामी हप्ता यसै विषयमा छलफल गर्न कतारको सरकारी टोली नेपाल आउने र अर्को महिना नेपाली टोली कतारमा गएर छलफल गर्ने बताउनुभयो ।

ओमानका लागि प्रस्ताव पठाइएको र उसले पनि सकारात्मक प्रतिक्रिया पठाएको मन्त्रालयले जनाएको छ । जसलाई अन्तिम रूप दिन सरकार कसरत गरिरहेको मन्त्रालयको भनाइ छ ।

यस्ता सम्झौताले रोजगारीमा कामदार जाँदा तिर्नुपर्ने खर्चदेखि त्यहाँ काम गर्दाको सेवा सुविधा र सुरक्षा समेत सुनिश्चित गर्ने बताइएको छ ।

सरकारले रोजगारीका निम्ति खुला गरेका झण्डै एक सय देशमध्ये पहिलो चरणमा धेरै कामदार जाने एक दर्जन देशसँग श्रम सम्झौता गर्ने लक्ष्य लिएको मन्त्री विष्टले बताउनुभयो । करिब एक दर्जन देशमा सेवा, सर्त, सुविधा लगायतका व्यवस्था प्रस्ट गर्न सकियो भने धेरै नेपाली श्रमिकको श्रम र हितकोको रक्षा गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको मन्त्री विष्टको भनाइ छ ।  त्यसैअनुसार अरू देशसँग पनि श्रम सम्झौता गर्ने गरी अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

देशको अर्थतन्त्र र वैदेशिक मुद्रा सञ्चितिमा वैदेशिक रोजगारीबाट आउने विप्रेषणको ठूलो योगदान रहने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट दैनिक झण्डै १,५०० कामदार वैदेशिक रोजगारीका निम्ति जाने गरेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE