दोस्रो चरणमा नलगाड हाइड्रोको मुआब्जा वितरण शुरु, प्रभावित क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न आग्रह
जाजरकोट-४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना प्रभावितलाई दोस्रो चरणमा मुआब्जा वितरण थालिएको छ । मुआब्जाबापत आयोजना प्रभावितलाई कुल दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७ सय ९८ रुपैयाँ उपलब्ध गराइँदैछ ।
आयोजना निर्माणका लागि सरकारले ४ सय ६५ घर तथा तीन हजार ९ सय ३३ कित्ता अर्थात चार हजार ६ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको छ । साविकका जग्गाधनीलाई प्रतिरोपनीको ६ लाख रुपैयाँका दरले मुआब्जा रकम उपलब्ध गराउन थालिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभएको छ । मुआब्जा पाउनेको नामावली २०७६ भदौ २७ गते सार्वजानिक गरिएको थियो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा लिएका परामर्शदाता कम्पनीले यसको मस्यौदा (ड्राफ्टकपी) आयोजनालाई बुझाइ सकेका छन् अब अन्तिम रिपोर्ट बुझाउन बाँकी छ । सन् २०१५ अप्रिलमा नलगाड जलविद्युत आयोजनाको डीपीआर तयार पार्न अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीसँग सम्झौता भएको थियो । आयोजनाले प्रभावित पार्ने क्षेत्रमा निर्माण गरिएका घर र भौतिक संरचनाको मूल्याङ्कन असोजसम्ममा गरिसक्ने र त्यसपछि मुआब्जा दिन थालिने नलकार्ड हाइड्रोका प्राविधिकले जनकारी दिनुभयो ।
यसैगरी, विद्युत उत्पादन गृह दल्लीदेखि पानी खसाल्ने ठाउँसम्मको सडक निर्माणका लागि बोलपत्र निकाल्ने अन्तिम तयारी भइरहेको छ । डिपिआरको काम समेत पूरा भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बारेकोट गाउँपालिकालाई डुबान क्षेत्रमा भौतिक संरचना निर्माणकार्य रोक्न अनुरोध गरिसकेको छ । तर, प्रशासनले गरेको निर्णयलाई स्थानीयवासीले लत्याउँदै डुबान क्षेत्रमा धमाधम घर एवम् संरचना निर्माण गरिरहेका छन् । स्थानीयले जानाजान अटेरी गर्दा पछि आयोजना निर्माणमा नै समस्या निम्तने सम्भावना बढेको छ । संरचना निर्माण गरिरहेका स्थानीयले भने यसबारे आफूहरुलाई कुनै सूचना नदिइएको दावी गरेका छन् । आयोजनाले २०७६ भदौ २७ पछि निर्माण हुने कुनै पनि संरचनाका लागि मुआब्जा रकम नदिने निर्णय गरिसकेको छ ।
नलगाड आयोजना बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको हो । कर्णाली प्रदेशकै एउटा निकै महत्वपूर्ण आयोजनाकोरुपमा यस आयोजनालाई हेरिएको छ । लागत कम खर्चिलो र यसलार्य निर्माण गर्न सजिलोसमेत रहेको ऊर्जा विज्ञहरू बताउँछन् । केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरिसकेको छ । ४ सय १७ मेगावाट क्षमता रहने नलगाड जलविद्युत आयोजना निर्माण सुरू जापानी व्यवसायीहरू एवम् जाइकाले यो आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन् । आयोजना निर्माणमा एक खर्ब २३ अर्ब रुपैयाँ खर्च अनुमान गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE