भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपेको थप्यै

१८ असोज
काठकाडाैँ – भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपेको थप्यै छ । अतिक्रमित क्षेत्रमा नेपालीलाई प्रतिबन्ध लगाउँदै भारतीय फौजको अखडा बनाइएको छ । उच्च स्रोतका अनुसार अतिक्रमित भूमिमा भारतीय चार सुरक्षा निकायका आधुनिक हतियारसहित ११ क्याम्प राखिएका छन् । त्यहाँ भारतीय सेना, सीमा सुरक्षा बल (एसएसबी), भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) पहिल्यैदेखि तैनाथ छन् । पछिल्लो समय गोर्खा सैनिक पनि खटाइएका छन् । नाकामा एसएसबीका १९ पोस्ट छन् ।
भारतीय सञ्चारमाध्यम ‘अमर उजाला’ले लिपुलेक क्षेत्रमा भारतीय सुरक्षा फौज थप गर्नेदेखि सैनिक क्याम्प र ब्यारेक सुधारका काम भइरहेको समाचार दिएको छ। उक्त पत्रिकाका अनुसार नाभीडाङ र लिपुलेकबीच सुरक्षा फौजको पुरानो मोर्चा सुधार गर्न लागिएको हो । चीनतर्फको सुरक्षा संवेदनशीलतालाई आधार बनाएर उक्त क्षेत्रमा भारतीय सुरक्षा फौज विस्तार गरिएको हो । स्रोतका अनुसार उक्त क्षेत्रमा नाइटभिजन हेलिकप्टरबाट निगरानीसमेत गर्ने गरिएको छ । लडाकु विमानसमेत देखिने गरेको व्यासका बासिन्दाले बताउँदै आएका छन् । अतिक्रमित कालापानी, नाभीडाङ, गुञ्जी, नाभी र कुटीमा भारतीय सुरक्षा फौजको ठूलो उपस्थिति छ । कालापानी र नाभीडाङमा सुरक्षा फौज मात्रै बसेका छन् । गुञ्जी, नाभी र कुटीमा स्थानीय बासिन्दाकै हाराहारीमा सुरक्षा फौज तैनाथ छन् ।
दार्चुलाको व्यास गाउँपालिका–४ का धरमसिंह धामीले सडकमा भारतीय सुरक्षा निकायका सयौं गाडी दैनिक ओहोरदोहोर गर्ने गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय क्षेत्र हुँदै नेपाली भूमितर्फ सुरक्षा फौजको चहलपहल बढिरहेको स्वीकार गरे । ‘पारि सडक छ, सडकबाट सुरक्षाकर्मीका गाडी आवतजावत बढी नै देखिने गरेको छ’, पोखरेलले भने ।
गुञ्जीमा सेना, एसएसबी, आईटीबीपी र प्रहरीका ब्यारेक छन् । कालापानीमा सेना, एसएसबी र आईटीबीपी, नाभीडाङ र लिपुलेकमा सेना र आईटीबीपी, कुटीमा सेना र आईबीपी तैनाथ छन् । गुञ्जीमा एसएसबी, सेना, आईटीबीपी र प्रहरीका पोस्ट छन् । भारतले अतिक्रमण गरेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पुग्न गुञ्जी मुख्य नाका हो । त्यही भएर भारतले धार्चुलापछि गुञ्जीलाई सुरक्षा फौज व्यवस्थापनको केन्द्र बनाएको देखिन्छ । गुञ्जीबाट भारतीय सेनाका कमान्डिङ अफिसर (मेजर)ले कालापानी, नाभीडाङ र कुटी हुँदै लिपिम्याधुरासम्म सेना परिचालन गर्ने गरेको स्रोतले बताएको छ ।
गुञ्जीमै एसएसबीका डीएसपीको कमान्डमा ८५ जनाको फौज छ । आईटीबीपी मेजरको कमान्डमा एक सय संख्यामा फौज छ । भारतीय प्रहरी पनि असइको नेतृत्वमा बस्ने गरेका छन् । प्रहरी भने हिउँदको समयमा स्थानीयसँगै धार्चुला झर्ने गरेका छन् । सेना, आईटीबीपीलाई भने त्यहाँ बाह्रैमास बस्ने व्यवस्था गरिएको छ । गुञ्जीबाट ९ किलोमिटर दूरीमा पर्छ कालापानी। त्यहाँ मेजरको कमान्डमा सेना, इन्स्पेक्टरको कमान्डमा एसएसबी र आईटीवीपी परिचालित छन् । कालापानीमा तीनै सुरक्षा निकायका लागि ५० भन्दा बढी हट ९हिउँदमा पनि बस्न मिल्ने विशेष प्रकारका घर० बनाइएका छन् । त्यहाँ तीनै सुरक्षा निकायका चार सयभन्दा बढी सुरक्षाकर्मी बस्ने गरेका छन् । पछिल्लो समय केही सुरक्षाकर्मी अझै थपेको अनुमान गरिएको छ। कालापानीमा नागरिकको बसोबास छैन । तर, भारतीय सुरक्षा फौजका लागि बनाइएका संरचना र संख्या हेर्दा गाउँजस्तै आभास हुने गरेको त्यस क्षेत्रमा रोजगारीका लागि पुगेका एक नेपालीको भनाइ छ । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE