Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एकता भएका पार्टी फुट्नु कुनै नौलो कुरा होइन : नेता गौतम

६ मंसिर
दाङ
– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले मिलेका पार्टी फुट्न सक्ने बताउनुभएको छ । दाङको तुलसीपुरमा शनिबार (आज) कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा होइन ।’

उहाँले पार्टीमा दुवै अध्यक्षको हैसियत बराबर भएपनि वरिष्ठताको आधारमा पहिले केपी शर्मा ओलीको नाम लेख्ने भन्ने सहमति भएको बताउनुभयो । पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको गौतमले बताउनुभयो ।

उहाँले थप भन्नुभयो, ‘जबसम्म नेताले आफूलाई ढाँटेर हिँड्छन्, तबसम्म समस्या समाधान हुँदैन । विधानमा दुई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले गर्दा बैठकसमेत बस्न सकेको छैन ।’

छोडुवा कुखुराको संकेत गर्नुभएका गौतमले नेकपाभित्रको विवादलाई कुखुराको बानीसँग पनि तुलना गर्नुभयो । उहाँले भन्नुभयो, ‘खोरमा पालेको हैन, छोडुवा कुखुराले जब कुनै पनि खाने कुरा फेला पार्छ, त्यसले यति हल्ला मच्चाउँछ कि सारा कुखुरा त्यही झुम्मिन पुग्छन् ।’

उहाँले थप भन्नुभयो, ‘अहिले भएको त्यही हो । हल्ला सुनेपछि झुम्मिएर झगडा गर्ने कुखुराजस्तै भएका छौं हामीहरु ।’ यसका साथै उहाँले आफू कहिल्यै पनि कुनै गुट निर्माणमा नलागेको र पार्टी एकताको पक्षमा सँधै उभिँदै आएको दाबी गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE