धरहराको २२ औं तलामा शिवलिङ्ग राखियो
८ बैशाख,काठमाडौँ – लगभग पुनर्निर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो ।
गत आइतबार गजुर राखिएको धरहरामा आज (बुधबार) २२ औँ तलामा शिवलिङ्ग राखिएको छ । पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ।
२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते धरहरा उद्घाटन गर्नेभएको छ । सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ।
करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो ।
पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE