जेठ १८ देखि कतारमा नियमित उडान हुने
१६ जेठ, काठमाडौँ – आउँदो जेठ १८ गतेदेखि कतारको लागि नियमित उडान खुल्ने भएको छ । नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार कतारसहित चीन र टर्कीको लागि नियमित उडान सञ्चालन गरिने भएको हो ।
नेपाली श्रमिकको लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो । योसँगै वैदेशिक रोजगारीको लागि कतार जान रोकिएका नेपाली श्रमिक सहजै कतार जान पाउने भएका छन् । यस्तै कतारबाट फर्किन नपाएका नेपालीहरु पनि केही स्वास्थ्य मापदण्डका साथ सहजै स्वदेश फर्किन सक्ने छन् । यसरी अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका अनुसार, दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट लिएर आएकाहरूलाई १० दिन होम क्वरेण्टीनमा बस्ने सर्तमा आफ्नो घर जान दिइने छ । कसैले एउटा मात्र खोप लगाएको छ र पीसीआर परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वरेण्टीन बस्नुपर्नेछ । तीन दिन पछि परीक्षण गर्दा कोरोना नेगेटिभ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन् । होटल क्वरेण्टीन खर्च भने आफैंले बेहोर्नुपर्नेछ ।
एउटा पनि खोप नलगाएको तर पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका यात्रुले भने १० दिनसम्म होटेल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्नेछ । त्यसपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा घर जान पाइनेछ ।
यस्तै नेपालबाट कतार जानेको लागि पनि अनिवार्य क्वरेण्टीनको प्रावधान छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट कतार प्रवेश गर्नेहरुलाई अप्रिल २९ देखि अनिवार्य क्वरेण्टीनको नियम लागु गरेको छ । यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेकाइनिस क्वरेण्टीन बस्नुपर्ने छ । यस्तै यी देशबाट कतार प्रवेश गर्दा तोकिएको स्वास्थ्य केन्द्रबाट पीसीआर परीक्षण गरिएको २४ घण्टा अघिको रिपोर्ट साथमा राख्नुपर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यो प्रावधान कतारमा कोरोना विरुद्धको खोप लगाइसकेका व्यक्तिको हकमा समेत लागु हुने छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE