पाकिस्तानले बनायो चीनको सहयोगमा कोरोना खोप
२० जेठ, काठमाडौँ – पाकिस्तानको स्थानीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएको छ ।
चिनियाँ कम्पनी क्यानसिनोले विकास गरेको खोप पाकिस्तानले मंगलबार सार्वजनिक गरेको हो। पाकिस्तानी अधिकारीहरुका अनुसार यस खोप उत्पादनका लागि छिमेकी मित्र राष्ट्र चीनले कच्चा पदार्थ उपलब्ध गराएको हो । यद्यपि उक्त खोप उत्पादनमा धेरै जटिलता आएको अधिकारीहरुले बताए ।
पाकभ्याकु नाम दिइएको उक्त खोप इस्लामाबादस्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)मा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।
यस खोपबारे पाकिस्तानमा सकारात्मक टिप्पणी आएका छन् । प्रधानमन्त्री इमरान खानले स्थानीय स्तरमा उत्पादन गरिएको यस खोप पाकिस्तानको लागि कोसेढुङ्गा सावित भएको प्रतिक्रिया दिएका छन् । साथै कोरोना विरुद्धको लडाइँमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
यसअघि उक्त खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न भइसकेको थियो । पाकिस्तानमा हालसम्म ९ लाख २२ हजार भन्दा धेरै कोरोना संक्रमित भइसकेका छन् । साथै दैनिक रुपमा २ हजारको हाराहारीमा संक्रमण पुष्टि हुने गरेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाकिस्तान सरकारले हालसम्म आफ्ना ५० लाख ३० हजार नागरिकलाई ७० लाख ३० हजार डोज कोभिड विरुद्धको खोप लगाइसकेको छ । तीमध्ये झण्डै २० लाख मानिसले दोस्रो चरणको खोप समेत लगाइसकेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE