Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बढ्दै रेमिट्यान्स

१३ साउन, काठमाडौँ – कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन।  ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलुकले रोजगारीका लागि श्रमिकलाई  बोलाएको छैन।

कोभिड अघिसम्म बर्सेनि ५ लाख युवा वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक पुग्ने गरेका थिए। कोभिडपछि वैदेशिक रोजगारमा जानेको संख्या घटेर १ लाखमा झरेको छ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले औपचारिक क्षेत्रबाट आउन थालेकाले रेमिट्यान्सको परिमाण बढेको बताए। ‘पहिला हुन्डीबाट आउँथ्यो, अहिले बैंकिङ तथा रेमिट कम्पनीबाट आउन थालेको छ,’ उनले भने,‘यसले गर्दा परिमाण बढेको हो।’

गन्तव्य देशमा अझै धेरै नेपाली कार्यरत छन्। उनीहरूले थप परिश्रम गरी घरमा पैसा पठाएकाले रेमिट्यान्सको परिमाण बढ्दो देखिएको प्रवक्ता ढकालले बताए।

वैदेशिक रोजगार विभागका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड भाइरसबाट वैदेशिक रोजगार प्रभावित हुँदा वैदेशिक रोजगारीमा जानेको संख्या औसतमा ७० प्रतिशतले कमी आएको छ। तर, घट्दो कामदारको संख्याको अनुपातमा रेमिट्यान्स नघट्नुको खास कारण भने खुलेको छैन।

केही वर्षअघि रेमिट्यान्सले ३० प्रतिशतसम्म हिस्सा ओगटेको थियो। अहिले पनि रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी नै हिस्सा ओगटेको छ।  विश्व बैंकले समेत रेमिट्यान्स घट्ने अनुमान गरेको थियो। तर नेपालमा कोभिडपछि रेमिट्यान्स घट्नुको साटो बढ्दो छ। विभागका अनुसार ५५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा विभिन्न मुलुक पुगेका छन्। तीमध्ये फर्किनेको संख्या यकिन नभए पनि ठूलो हिस्सा अझै वैदेशिक रोजगारी मै रहेको बिभागको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE