Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

भन्सारमा बेहुला बेहुली पर्खिदै: दानको फर्निचर रोकिनु कानुनी कि मनोमानी?

सिरहा, वैशाख ११ – सिरहा माडरस्थित सिरहा भन्सार कार्यालयको मूल गेट नजिकै बिहिबार बिहान अनौठो दृश्य देखियो। बिहेमा बेहुली पक्षबाट बेहुलालाई दान स्वरूप दिएको फर्निचर बोकेको ट्रायॉक्टर भन्सारको मूल गेटमा रोकिएको छ — कारण, “बेहुला बेहुली बिना जान पाइँदैन” भन्ने सशस्त्र प्रहरीको आदेश।

भारतमा विवाह गरेर फर्किएका विजय मण्डल, जो बेहुलाका आफन्त हुन्, भन्छन्, “हामीले बिहेको कार्ड देखायौँ, फर्निचर दान स्वरूप ल्याएको प्रमाण दिन तयार थियौँ। भारततिर कहिँ अप्ठ्यारो भएन, तर आफ्नै देशमा यस्तो अन्याय?”

कानुनी पक्ष

कानूनविद्हरू भन्छन्, व्यक्तिगत प्रयोगका सामान, त्यो पनि पारिवारिक प्रयोजनका लागि ल्याइएको, यदि व्यावसायिक वा तस्करी सम्बन्धी शंका नभएको खण्डमा, रोक्नु अनुचित हो। भन्सार ऐन, २०६४ अनुसार व्यक्तिगत र पारिवारिक प्रयोजनका सामानमा साधारण सोधपुछ पछि छुट दिन सकिन्छ। “यस्ता घटनामा प्रहरी वा भन्सार अधिकारीले प्रमाणको आधारमा आवश्यक प्रक्रिया अगाडि बढाउनु पर्ने हो — न कि सन्देहकै भरमा सार्वजनिक यातायात वा सामान रोक्ने।”

व्यवहारिक पक्ष

सामाजिक र मानवीय दृष्टिले हेर्दा, बिहेमा प्रयोग हुने सामग्री, त्यो पनि बेहुला बेहुली नआएसम्म रोक्ने कार्यले नागरिकको मौलिक हकमा हस्तक्षेप गर्न जान्छ। फर्निचरजस्ता सामग्रीमा तस्करीको खतरा भए पनि प्रमाणबिनै यस्तो व्यवहार गर्नु अत्यन्तै अमानवीय देखिन्छ।

स्थानीय प्रतिक्रिया

स्थानीय नागरिकहरुले यसको व्यापक विरोध गरेका छन्। “यो त स्पष्ट दुर्व्यवहार हो। सशस्त्र प्रहरी र भन्सारले अधिकारको दुरुपयोग गरेका छन्,” एक स्थानीय युवाले बताए।
यस घटनाले कानुनी प्रक्रियाको अवज्ञा मात्र होइन, राज्य संयन्त्रमा देखिएको असंवेदनशीलता पनि उजागर गरेको छ। आवश्यक अनुसन्धानपछि दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिनु राज्यको कर्तव्य हो।

WRITE COMMENTS FOR THIS ARTICLE