Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

टायरमा हावा नहुँदा मुगुमा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान

२६ आश्विन,काठमाडौँ – टायर पञ्चर भएको कारण मुगुमा बस दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। मंगलबार दिउँसो पौने २ बजे छायानाथ रारा नगरपालिका वडा ७ पिनाटपने खोला क्षेत्रमा भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन क्षेत्रीका अनुसार २४ जनाको घटनास्थलमै मृत्यु भएको हो। चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट चार जनाको मृत्यु भएको छ। बस सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा अहिलेसम्म ३२ जनाले ज्यान गुमाइसकेका छन्। कालिका ड्युलक्सको गाडी नेपालगन्जबाट सुर्खेत हुँदै मुगु जाँदै थियो।

अहिले सो बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन। सिट क्षमताभन्दा बढी नै यात्रु रहेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो। ‍दुर्घटना हुनुको एउटा कारण सिट क्षमताभन्दा बढी राखेकोले पनि भएको हुनसक्ने उहाँले बताउनुभयो।

अर्को कारण त्यहाँको बाटोको अवस्थाले गर्दा पनि कठिन भएको उहाँको भनाइ थियो। ओभरलोड पनि भएको देखियो। सिटभन्दा बढी यात्रु देखियो, उहाँले भन्नुभयो, मुगुको बाटो पनि नराम्रो भएको हुँदा त्यो भएको देखिन्छ।

अर्को टायर पञ्चर भएको कारण पनि दुर्घटना भएको हुनसक्ने उहाँले बताउनुभयो। त्यहाँ बोल्न सक्नेले भने अनुसार अगाडि ड्राइभर बस्ने पट्टिको टाइर ब्रस्टु अर्थात पञ्चर भएपछि दुर्घटना भएको बताउनुभयो, उहाँले भन्नुभयो, घटनास्थलमा पुगेका डिएसपी साबले पनि हेर्दा त्यही कारणले भएको देखिन्छ भन्नुभयो।

यद्यपि यो प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो। यसमा थप अनुसन्धान गरी अरू कारण खुल्नेछन्। अहिले घाइतेमध्ये १२ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ।

नर्सिङ होम्समा १० जना र मेडिकल कलेजमा दुई जना छन्। उनीहरूको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो। एक जना बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बालिका बोल्न सक्ने अवस्थामा छिन्।

मृत्यु हुनेहरूको सनाखत पनि हुन नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। तर अधिकांस छायानाथ रारा नगरपालिकाकै बासिन्दा नै हुनसक्ने आशंका गरिएको छ।

चालकको नाम मानबहादुर रावल भन्ने खुलेको तर अरूको खुल्न सकेको छैन। अरू विवरणहरू संकलन गर्ने काम प्रहरीले भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगु, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको उद्दारमा खटिएका छन्। ‍

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE