कोही मुख्यमन्त्री मन नपर्न सक्छ, तर यो प्रणाली जोगाउनुपर्छ : मुख्यमन्त्री भट्ट
३० जेठ, काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल भए अहिलेको व्यवस्था नै असफल हुने बताएका छन् । आइतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री भट्टले अहिले प्रदेश संरचनामाथि प्रश्न उठाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे । प्रदेश संरचना फेल भए संघीय शासन प्रणाली नै असफल हुने उनले बताए ।
‘प्रदेश संरचना फेल भयो भने नेपाल नै फेल हुन्छ । हाम्रो अहिलेको व्यवस्था फेल हुन्छ त्यसपछि हामी सबै फेल हुन्छौं,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यसैले यो प्रणालीलाई जोगाउनुपर्छ । कसैलाई कोही मुख्यमन्त्री मन नपर्न सक्छ । त्यो अलग कुरा हो । तर समग्रमा अहिलेको प्रणाली जोगाउने नै मुख्य कुरा हो ।’
उनले संविधान र व्यवस्थालाई आफू अनुकुल व्याख्या गरेर समाप्त पार्ने षड्यन्त्रविरुद्ध एकजुट भएर जानुपर्ने आवश्यकता देखिएको बताए । ‘संघीय संसद दुई पटक विघटन भइसकेको र प्रदेशतिर पनि कतिबेला के हुन्छ भन्ने चिन्ताको विषय बनेको छ,’ उनले अगाडि भने, ‘अन्यत्र जे भए पनि सुदूरपश्चिमको सदन साझा रुपमा ती षड्यन्त्रविरुद्ध एक भएर उभिनुपर्छ । त्यो कुरालाई हामीले देखाइसकेका सकेका पनि छौं ।’
मुख्यमन्त्री भट्टले प्रदेशमा उपलब्ध स्रोत साधनको उपयोग गरेर विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘सुदूरपश्चिम प्राकृतिक, भौगोलिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न प्रदेश हो,’ उनले भने, ‘हामीसँग भएका यी स्रोत साधनको प्रयोग गरेर विकास गर्नुपर्छ ।’ कम्युनिष्टको नेतृत्वमा सरकार भएकै कारण देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न आऔं भन्ने नाराका पर्यटन प्रबद्र्धन गर्ने कार्यक्रमको आलोचना भएको बताउँदै भट्टले कुनै पनि ठाउँको विकास त्यहाँ उपलब्ध स्रोत साधनकै उपभोग गरेर हुने स्पष्ट पारे ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE