Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

गण्डकीमा बजेट पारित भएपछि मन्त्रिपरिषद् विस्तार हुने

१२  असार काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको बजेट पारित भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ। अहिले भने यसअघि नियुक्त भएका मन्त्रीको कार्यविभाजनमा सहमति बनेको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जेठ २९ गते चार जना मन्त्री नियुक्त गरेका थिए। तर, उनीहरूलाई जिम्मेवारी दिइएको थिएन।

सत्ता गठबन्धनका दलबीच मन्त्रिपरिषद् विस्तारबारे शुक्रबार सहमति भएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। सहमतिअनुसार अब आइतबार चार मन्त्रीले पनि जिम्मेवारी पाउने भएका छन्।

सत्ता गठबन्धन गरेका दलबीच भएको सहमति अनुसार अहिले सरकारका प्रवक्ता रहेका कांग्रेसका खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन्। नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएकी छिन्।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) का हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। उनी यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि युवा तथा खेलकुद मन्त्री थिए।

अहिले ६ मन्त्रालय मुख्यमन्त्री पोखरेलसँगै छन्। अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटन मन्त्रालयमा बजेट पारित पछि नियुक्त गरिने खड्काले बताए।

असार १ गते आर्थिक मामिलामन्त्री समेत रहेका मुख्यमन्त्री पोखरेलले बजेट ल्याएका थिए। प्रदेश सभामा बजेट पेश भए पनि पारित हुन सकेको छैन। प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

 

sponsored
sponsored

 

WRITE COMMENTS FOR THIS ARTICLE