Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023

लोकबहादुरको त्यो चलाखीपूर्ण अन्तरवार्ता : लाश देखेपछि आतेश लागेर चिच्याएँ (भिडियो सहित)

२७ भदौ, काठमाडौँ – यदि तपाईंले सस्पेन्स थ्रिलर फिल्महरू हेर्ने गर्नुभएको भए थाहा होला, तिनीहरूमा प्रायः सबैभन्दा कम शंका गरिएको व्यक्ति नै अन्त्यमा अपराधि ठहर्छ । जो मुख्य अपराधी हो, उसलाई नै कथामा सबैभन्दा निर्दोषका रूपमा पेस गरिन्छ ताकि दर्शकले अनुमानै नगरुन् ।

संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तले ठीक यस्तै शैलीमा आफूलाई पेस गरेका थिए । यति ठूलो अपराध रचिसकेपछि पनि उनले लुक्ने वा भाग्ने चेष्टा गरेनन् । बरु निर्धक्क मिडियालाई अन्तरवार्ता दिए, अनि प्रहरीलाई भुलभुलैयामा पार्न अनुसन्धानलाई सघाएको नाटक पनि गरे ।

घटनालगत्तै लोकबहादुरले आफूलाई ‘पहिलो प्रत्यक्षदर्शी’ का रूपमा उभ्याएका थिए । अनलाइन तुफान नामक युट्युव च्यानलले घटनाको विषयमा उनीसँग अन्तरवार्ता गरेको थियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अन्तरवार्तामा लोकबहादुर शंकै नलाग्ने गरी बडो निर्दोष भावमा पेस भएका छन् । घटनापछि डर-त्रासले गर्दा आफूहरू राम्ररी निदाउन नसकेको बताउँछन् उनी । आफैंले चिर्पटले हानेर मारेका तेजबहादुरलाई ‘मिलनसार र सहयोगी स्वभावको व्यक्ति’ का रूपमा चित्रण पनि गर्छन् । अन्तरवार्तामा उनले बडबाउको लाश देखेपछि आफू आतेश लागेर चिच्याएको बताएका छन् ।

 

उनले त्यस दिनको यसरी बयान गरेका छन् –

‘अघिल्लो दिन बेलुका सात बजे नै सुतेको थिएँ । बिहान साढे सात बजेको थियो होला उठ्दा । उठेर आगोसागो बालेँ । खानासाना पकाएँ । ड्याडी र भाइ घाँस काट्न जानुभो । अनि म चाहिँ खाना खाँदै थिएँ । ९ बजेतिर माथ्लोघरको एकजना भाइले चौताराबाट बोलाएर ‘हजुरआमा साह्रै हुनुहुन्छ रे, हेर्न जा’ भनेर भन्यो ।

‘त्यसपछि उठेर हिँडेँ । पल्लो घरतिर जाँदा मास्तिरैबाट तल बडाउको लाश घोप्टो परिरहेको देखेँ । पर्तिरबाट हेर्दा एकदम ब्लडहरू, खुनैखुन हेरिनसक्नु थियो । अनुहारहुँदी झिंगाहरू पनि भन्किरहेको । अनि म त एक्कासी डरले चिच्याउन-कराउन थालेँ । त्यसपछि गाउँलेहरू जम्मा हुनुभयो । सबैजना मिलेर परिवारको अरु मान्छेलाई खोज्न थालियो । खोलाछेउ रोडको भित्तामा बडीमा लडिराख्नुभएको थियो । हत्याराले साना बच्चाहरूलाई पनि छोडेनछ । हजुरआमा, भाइ र बहिनीको लाश त मैले हेर्न पनि सकिनँ ।

लोकबहादुरलाई सोधिन्छ, ‘पैसाको लागि कि रिसिबीले मारिएको जस्तो लाग्छ ?

शुरूमा उनी पैसाकै लागि मारिएको आशंका व्यक्त गर्छन् । उहाँहरूको कसैसँग रिसिबी थिएन । पैसाकै लागि हो कि जस्तो लाग्छ,’ उनले भनेका छन् । फेरि प्रहरीले पैसा र गरगहना घरमै भेटाएको पत्रकारले बताएपछि उनी भन्छन्, ‘अँ, पैसाको लागि होइन कि जस्तो पनि लाग्छ । यो घटना गम्भीर छ ।’ ‘यो ठाउँमा यस्तो घटना गराउन सक्ने कोही शंकास्पद व्यक्तिहरू तपाईंले देख्नुभएको छ रु भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, ‘त्यस्तो कोही पनि छैनन् । यो गाउँघरमा सबै दाजुभाइ हौं । शंका गर्न सकिने मान्छे कोही छैन मेरो विचारमा ।’ त्यो परिवारको दुश्मनी कसैसँग नभएको लोकबहादुर बताउँछन् । मृतक तेजबहादुरको प्रशंसा गर्दै उनी भन्छन्, ‘बडाउ एकदम मिलनसार मान्छे हुनुहुन्थ्यो । सामाजिक काममा एकदम अग्रसर हुने । रिसइबी(झगडा केही थिएन । हामीसँग पनि राम्रो सम्बन्ध थियो । आउने-जाने भइरहन्थ्यो ।

उनलाई सोधिन्छ, ‘घटनापछि तपाईंहरूलाई डर त्रास कत्तिको छ ?

लोकबहादुर जवाफ दिन्छन्, ‘एकदमै डरत्राशमा छौं हामी । राति निद्रानै परेको छैन । अस्तिको दिन त निदाउनै सकेनौं । हिजो चाहिँ अलिबेर निदाएँ ।’ यस अन्तरवार्तामा लोकबहादुरले शंका लाग्ने ठाउँ कमै छाडेका छन् । तर, प्रहरीसँगको सोधपुछका क्रममा भने उनले विरोधाभाषी कुरा गरेका थिए । अनुसन्धानका क्रममा उनको घरमा रगत लागेको कपडा भेट्टिएपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको थियो । बयानका क्रममा उनले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ । लोकबहादुर र तेजबहादुरको घर नजिकै दूरीमा छ । तेजबहादुरको घरमा लडेर लोकबहादुरकी आमाको मृत्यु भएको र त्यसयता उनीहरूबीच वैमनष्यता शुरू भएको बताइएको छ । लोकबहादुरको घरमा उनीसहित बुबा र भाइ बस्छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE