८ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक
१४ आश्विन, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । एमालेको अवरोधका बीच सभामुख सापकोटाले बैठकलाई अगाडि बढाउनुभएको थियो।
बैठकको सुरुमा उहाँले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेजी सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाए। त्यसपछि उहाँले राष्ट्रपति कार्यालयबाटै प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए ।
त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिनुभएको थियो ।
बैठकमा उहाँले नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराउनुभएको थियो ।
सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्धा फिर्ता गर भन्ने जस्ता नारा लगाउनुभएको थियो । प्रतिनिधिसभाको बैठक यही असोज १९ गते मंगलबारसम्मको लागि स्थगित भएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE