Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

सर्वदलीय बैठकमा ओलीको चर्को आलोचना

२४ मंसिर
काठमाडौँ
– प्रतिगमनकारी शक्तिविरुद्ध राष्ट्रिय सहमति कायम गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारका कामकारबाहीमा प्रश्न उठाएका छन् । आफ्नै पार्टी नेकपाभित्र अन्तरसंघर्ष झेलिरहेका प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कांग्रेस, जनता समाजवादी र राप्रपाका नेताहरूले चर्को आलोचना गरेका थिए ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध राजावादीहरूले सडकमा नारा घन्काउन थाल्नुको कारण धेरै हदसम्म सरकारको कार्यशैली नै भएको उनीहरूको भनाइ थियो ।

सर्वदलीय बैठकको सुरुमै प्रधानमन्त्री ओलीले कोभिड–१९ र राजावादीले सडकमा गरिरहेको प्रदर्शनका विषयमा सुझाव मागेका थिए । उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका दिशामा सरकारले गरेका कामको हिसाबकिताबसहित लामो फेहरिस्त प्रस्तुत गरेका थिए । त्यसपछि राज्य प्रणालीलाई कमजोर बनाउने गरी राजावादीले सडकमा गरिरहेको प्रदर्शन र नेत्रविक्रम चन्द नेतृत्वको समूहको गतिविधिका विषयमा उनले नेताहरूको धारणा मागेका थिए ।

कांग्रेस र जनता समाजवादीका नेताहरूले सरकारको ढिलासुस्ती, अनियमितताको संरक्षण, कोरोना नियन्त्रण र रोकथाममा असफलता, प्रधानमन्त्रीका अभिव्यक्ति र कार्यशैलीगत कमजोरीका कारण प्रतिगमनले मुन्टो उठाउने मौका पाएको धारणा राखेका थिए । उनीहरूले संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन पनि माग गरेका थिए । विपक्षीहरूको आलोचनालाई अन्तिममा ओली आफैंले प्रतिवाद गरेका थिए । उनले सरकारविरुद्धका आलोचना धेरै मिथ्या भएको प्रतिक्रिया दिए । ‘यस्तो आरोपले उल्टो संविधानको विकास र प्रणालीलाई कमजोर बनाउँछ ।

सबै साथीहरूको यतातिर पनि ध्यान जाओस्,’ ओलीले भनेका थिए । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सुरुवातमा भने आफ्नै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको गतिविधिप्रति लक्ष्य गर्दै धारणा राखेका थिए ।

सरकारको कमजोरी नभएर दलभित्र र दलहरूको गतिविधिका कारण राजावादीहरूले मौका पाएको उनको भनाइ थियो । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरू उपस्थित भए पनि उनीहरूले बोल्ने मौका पाएनन् ।

बैठकमा राप्रपा नेता दीपक बोहराको मात्रै फरक धारणा थियो । उनले आफ्नो पार्टी संवैधानिक राजतन्त्र र हिन्दु राज्यको पक्षमा रहेको उल्लेख गर्दै त्यसनिम्ति सडकमा निस्केको प्रदर्शनलाई साथ र सहयोग गरेको धारणा राखेका थिए । केही समययता मुलुकका विभिन्न भागमा राजतन्त्र र हिन्दु राज्य पुनःस्थापनाको माग राख्दै भएका प्रदर्शनमा राप्रपाले साथ दिँदै आएको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलले गत बुधबार तनहुँमा आफूमाथि नै सरकारबाट ज्यादती भएको भन्दै सरकारका कमीकमजोरी लिखित रूपमै राखेका थिए । संविधानको भावना र मर्मविपरीत चल्न खोज्दा सडकमा राजावादीले मौका पाएको उनको तर्क थियो । ‘यो परिवर्तन र यो संविधान जुन सहमतिबाट ल्यायौं, जसबाट तपाईं अहिले यो ठाउँमा हुनुहुन्छ, त्यसको मर्म तपाईंले बुझ्न चाहनुभएन । तपाईंको भूमिका समन्वयकारी हुनुपर्ने थियो, त्यो देखिएन,’ पौडेलको भनाइ थियो, ‘तपाईंले आफन्त र मन्त्रीहरूको भ्रष्टाचारका आरोपहरूको ढाकछोप आफैं अघि सरेर गर्नुभयो । मुलुकमा भ्रष्टाचारको बिगबिगी छ तर ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको छ । अदालत पनि प्रभावमा पारिएको जस्तो देखिन्छ ।’

पौडेलले राष्ट्रपतिको तामझामले पनि सडकमा राजावादीहरूले मौका छोपेको बताए । ‘राजा जे कारणले हटाइयो त्यसलाई बिर्सेर राष्ट्रपतिको जुन तामझाम देखिएको छ, आजको परिस्थिति ल्याउन त्यसको प्रभाव परेको छ,’ पौडेलले भनेका थिए । उनले संवैधानिक आयोगहरू लामो समयसम्म नियुक्ति गर्न नसकेकामा प्रधानमन्त्री र आफ्नै पार्टीका सभापतिप्रति पनि तिखो टिप्पणी गरेका छन् ।

‘पारदर्शी ढंगले जुन पदमा जस्ता मान्छे चाहिने हुन्, एउटा रोस्टर बनाएर उपयुक्त छनोट गर्न किन लाग्नु भएन ?’ प्रधानमन्त्री ओलीप्रति लक्ष्य गर्दै पौडेलले भनेका थिए, ‘तपाईं र मेरो सभापतिले मात्रै अनुकूल ठान्ने व्यक्ति खोज्नुहुन्छ भने मै विरोध गर्छु ।’ अयोध्या माडीमा पर्छ भनेर भारतलाई चिढाएको, संसद् अधिवेशन चाँडो अन्त्य गरेर अध्यादेशले शासन चलाउने सुविधाको बाटो खोजिएको र दल विभाजन गर्ने अध्यादेश ल्याएर अस्थिरता निम्ताउन खोजेको भन्दै पौडेलले ओलीप्रति आक्रोश पोखेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE