सूचना लुकाएको भन्दै धनुषामा जनप्रतिनिधि र कर्मचारीविरुद्ध ‘भैँसी जुलुस’
१७ आश्विन, धनुषा- धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुविरुद्ध भैंसी जुलुस निकालिएको छ । भ्रष्टाचार भएको आशंकामा माग गरिएको सूचना उपलब्ध नगराएपछि भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीको अनसनको समर्थनमा नगरबासीले आज बिहान भैंसी जुलुस निकालेका हुन् । जुलुसमा सहभागी गराइएका भैंसीहरूको घाँटीमा मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत उल्लेखित प्लेकार्ड झुण्ड्याइएको थियो ।
भैंसी जुलस निकालेका नगरबासीले मेयर विजयशंकर साह, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर र लेखा अधिकृत शिवकुमार झाविरुद्ध नाराबाजी समेत गरे। भ्रष्टाचार लुकाउन सूचना नदिएको भन्दै संघर्ष समितिका संयोजक सुरेश यादवको नेतृत्वमा विगत १४ दिनदेखि नगरपालिकाको कार्यालयमा रिले अनसन जारी छ ।
चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, गत वर्ष संसद विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, कोभिड-१९ रोकथाम तथा क्वारेन्टाइन सञ्चालन खर्चलगायतका शीर्षकमा भएको खर्चको सूचना मागेको महिनौं वितिसक्दा पनि नदिएपछि अनसन बस्नुपरेको समितिका संयोजक यादवले बताउनुभयो ।
‘सबै प्रक्रिया पूरा गरी सूचनाका लागि निवेदन नगरपालिकामा दर्ता गराएका छौं’, उहाँले भन्नुभयो, ‘तर मेयर साह र कर्मचारीहरूले सूचना उपलब्ध गराउन मानेका छैनन् ।’ सूचना उपलब्ध नगराएसम्म अनसन जारी राख्ने अभियन्ताहरूले बताएका छन् ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE