पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिन अमेरिकी विज्ञको सिफारिस
१० कार्तिक, एजेन्सी । अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ।
त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो।
सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो।
अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो।
अनुमति लिन बाँकी
हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन्।
अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्छ।
ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने ठानिएको छ जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु हुनसक्छ।
एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE