Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा

५ मंसिर, काठमाडौं – पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव जितेका थिए । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि उनी राजनीतिक रूपमा पनि ओलीकै साथमा रहने अड्कलबाजी भएको थियो । यद्यपि उनी एमालेमा प्रवेश गरेनन् ।

पछिल्लो समय उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आबद्ध हुने चर्चा पनि चलेको छ । तर, सो पार्टीका अन्य केही नेता र त्रिपाठीबीच व्यक्तित्वको टकराव भएका कारण त्यति सकारात्मक माहौल बन्न नसकेको स्रोत बताउँछ । लोसपामा राजेन्द्र महतो पार्टीको वरीयताक्रममा दोस्रो स्थानमा छन् । यस्तै, शरतसिंह भण्डारी तेस्रो, अनिलकुमार झा चौथो स्थानमा छन् ।

त्रिपाठी आफूलाई राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताभन्दा सिनियर मान्छन् । उनी कुनै पनि हालतमा उनीहरूभन्दा तलको पोजिसनमा बस्न चाहँदैनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE