‘सुन्दर, स्नीग्ध र शितल जिरी’
माया जाल बुन्छु म झिम झिम सानु नझिम्क्याउ परेली भुतुक्कै हुन्छु म, बोतलको पानीले’ लोक दोहोरी गाउँदा गाउँदै कतिबेला आधुनिक कतिबेला पप पनि गाइदो रहेछ ।

भनिन्छ– कति कुरा नभनेरै मिठा मिठा लाग्छ । त्यस्तै कति कुरा नलेखेरै अमेट छाप बन्दो रहेछ । जिरी यात्रा मेरो लागि त्यस्तै बन्यो ।
जिरी घुमेको एक वसन्त पूरा भयो । पृथ्वीले सूर्यलाई एक फन्को मार्यो । तर मेरा हात दुई पाइला पनि अघि बढेन । जिरीको कुरा निस्किने बित्तिकै मन फुरुङ्ग हुन्थ्यो । उसको सुन्दरतालाई वर्णन गरिहालूँ जस्तो लाग्यो । तर, लेख्न बस्दा किन हो हातले पाइला चाल्नै सक्दैन थियो । सायद, लागेको हुन सक्छ– उसको सुन्दरतालाई बयान नसक्ने पो हो कि ! उसको मुस्कानबारे लेख्न शब्दकोमा शब्दै पो छैन कि ! ०००
समयले गेयर चेन्ज गर्दै थियो । जाडोको स्पीड बढ्दै थियो, गर्मीको घट्दै । काठमाडौँमा बिहान बेलुका चिसो सिरेटो चल्न सुरु भइसकेको थियो । तिहार पनि नजिकिँदै थियो । टाढा घर भएका र दशैँमा घर गएका साथीहरू फर्किँदै थिए ।
दशैँमा बिदा नपाएकाहरू तिहारमा घर जाने तयारीमा थिए । मेरो दशैं–तिहार हजुरआमाले लानु भएको थियो । सायद, उहाँले स्वर्गमै मनाउनु भयो होला !
‘सहरिया भाले’को डाकमा अफिस र साँझ घर बाहेक अर्को संसार हुने कुरै भएन । घुम्न जाउ भनेर धेरैपटक म्यासेन्जर, भाइबर ग्रुप बनाइयो । सल्लाह पनि गरियो । तर, लास्टमा कस्को के मिल्दैन्थ्यो, अनि काठमाडौँमै खुम्चिइन्थ्यो ।
काठमाडौंमा निसासिएर बसेको बेला दोलखाकी सविना कार्कीको फोन आयो । कुरा कतै नमोडी जिरी घुम्न जाम है ! घुम्न जाने कुरामा यत्ति हतारमा उत्तर दिने मान्छे त होइन तर त्यस दिन यसै हुन्छ भने । यसो त बिहान घुम्न जाम है भनेर बेलुका क्यान्सिल भयो है भन्ने फोन आइराख्ने । त्यस्तै होला भन्न सोचेकी थिएँ । बेलुकाका त बिहान ५ः३०मा चाबहिल आइपुग्नु भन्ने खबर आयो । ०००
राति निद्रै लागेन । सोचे– ‘नेपालको स्विट्जरल्याण्ड’ कस्तो होला । डाँडैडाडा होला कि समथर ? प्राकृतिक कि मानव निर्मित ? कस्ता होलान् त्यहाँका मान्छेहरू ? कस्तो होला मौसम ?
नेपालको स्विट्जरल्याण्ड भनेपनि अन्य ठाँउभन्दा पृथक नै हुनुपर्छ भन्ने लाग्यो । सोच्दा सोच्दै कतिबेला निदाए पत्तै पाइनँ । बिहान ठिक ५ः३० मा चाबहिल चोक पुगे ।
मेरो लागि जिरी घुम्ने कार्यक्रमको संयोजक सविना थिइन् । चाबहिल पुगेपछि सविनालाई फोन हाने । ५ मिनेटमा आइपुग्छु भनिन् । चिसो सिरेटो भएकोले चिया पसलमा पसे । तीन कप चिया पिएँ । तीन कल फोन गरे । तीनवटा ५ मिनेट गयो । प्रत्येक कलमा सविनाले दोहोराइरहिन्– ‘५ मिनेटमा आइपुग्छु ।’
एक कप चिया र एक कल फोन गर्दा गर्दै ६ः३० भएछ । गाह्रोमध्ये एउटा गाह्रो काम– मान्छे कुर्ने काम । एक घण्टा एक दिनजस्तै लाग्यो । अब अन्तिम कल गर्छु फेरि पाँच मिनेटको भाका राखे फर्किन्छु भनेर सोच्दै थिएँ, ठ्याक्कै गाडी आइपुग्यो ।
मजस्तै कुरीरहेको २–३ जनालाई लिन गाडी बानेश्वरको शंङ्खमुल चोक तिर हानियो । त्यहाँ रहेको उजामा क्याफेमा पोइट्री, भिडियो अनि फोटो ग्राफर टिम पनि रहेछन् । उजामामा कफी पिएपछि महिला पत्रकारको टोली त्यहाँबाट निस्कियो । पोइट्री, भिडियो फोटो ग्राफरको पनि फरक फरक गाडीमा निस्किए । ०००
सबै फरक फरक मिडियाका । सरिसा, प्रजिता र सविना त चिनिरहेकै साथीहरू । त्यस बाहेक सबै अपरिचित । चिनजान नभएपनि गन्तव्य एउटै थियो । उद्देश्य पनि उही ।
गाडीमा ‘स्विट्जरल्यण्ड’को यात्रा ! कोटेश्वर–भक्तपुरको रोड । सायद, नेपालको स्विट्जरल्यण्ड जाने भन्ने उत्सुक्ताले मजस्तै सबै राति निदाउन सकेका थिएनन् होला ! गाडी चढेको आधा घण्टामै निदाउन लागे । मलाई भने गाडी कहिल्यै निन्द्रा नलाग्ने ।
सबै निदाए म के गर्नु भनेर सोचेँ । अरुलाई निदाउन त दिनुभएन । गीत गुनगुनाउन थाले । त्यसपछि सबैले जना गीतमा झुम्मन थाले । सुरुमा गाडीमै बजेको गीतमा रमायौँ । केहीबरेमा गाडीको गीत बन्द गरेर आफै लाउड स्पिकरका साथ चिच्याउन थाल्यौ ।
रमाउँदा रमाउँदै साँगा पुगियो । बिचको सिटमा बसेका सरिसा र प्रजिता गीत गाउँदा गाउँदै खासखासखुसखुस पो गर्न थाले । एउटा सामन लिएर ओल्टाइपल्टाई गर्दै थिए । ध्यान नदिउ भन्दा भन्दै ध्यान गइहाल्यो । प्रेग्नेस्सी टेस्टको किट पो हातमा लिइरहेका रहेछन् ।
नचाहेरै ठूलो स्वरले भनिहाले– यो प्रग्नेस्सी टेस्ट किन बोक्या ?
अब गाडीभर हल्ला मच्चिाउने पालो आयो ।
सरिसालाई रुघा लागेको रैछ । गाडी चड्नेबेला गीताको घर नजिकै मेडिकल भएकोले साइनेक्स र ट्यूस्यु मगाएको साइनेक्स र किट परेछ । अब हल्ला गर्ने अर्को कन्टेन्ट नै चाहिएन । त्यसमै सुरु भइहाल्यो । ०००
अरनिको राजमार्ग हुँदै हामी धुलिखेलबाट धुलै धुलाेको बाटो लाग्यौँ । गाडी पाँचखाल तिर मोडियौँ । बाटोमा खाल्डा पनि उस्तै । केहीबेर अघिसम्म हामीले हल्ला गरेका थियौँ अब गाडीले नै हल्लाउन थाल्यो । पाँचखालको खावा पुगेपछ ब्रेकफास्टका लागि रोकियौँ ।
बिहान कफी खाँदासम्म अपरिचित बनेका साथीहरू अहिले वर्षौँदेखि चिनजान भएका जस्तै भइसकेका थियौँ । ब्रेकफास्ट पछि खरीढुङ्गाको आहालडाडामा खाना खान भेटिने भन्दै हामी आफ्नै गाडीका चड्याैँ । अरु टिम पनि आफ्ना आफ्नै गाडीमा चडे । ०००
खावाबाट हिडेपछि अब दोहोरी गाउने सल्लाह भयो । सुरु ग¥यौँ सुशीला दिदी र मैले– माया जाल बुन्छु म झिम झिम सानु नझिम्क्याउ परेली भुतुक्कै हुन्छु म, बोतलको पानीले’ लोक दोहोरी गाउँदा गाउँदै कतिबेला आधुनिक कतिबेला पप पनि गाइदो रहेछ ।
गीत बिर्सिए गीता मोबाइलमा सर्च गरीगरी हेर्थिन् । र, सुरु गर्थिन् । हाम्रो रमाइलोमा चालक सीताराम दाइ पनि रमाउँदै हुनुहुन्थ्यो । सुकुटे पुगेपछि सीताराम दाइ तपाईंहरु रमाइलो गर्नु एक छिन हेर्छु पो भन्न थाल्नु भो । ०००
गीत सुरु गर्नु पहिलाको मेरो सर्त थियो । रमाइलो गर्ने भए सबैले गर्ने नत्र कसैले पनि नगर्ने । सबैले हुन्छ भनेका थिए । खाडीचौर पुगेपछि बिजिशा त निदाउन पो थालिन् ।
बोतलको पानी आँखामा पर्ने गरी फालेको थिए कानमा परेछ । रिस आँखामै देखिएपनि मुखले केही बोलिन् । उसको अनुहार देखेपछि मनमनै सोचे केस्ती ‘घामट’ केटी रैछे ।
यही सोचेर बीचमा भएको बीजिशालाई अगाडी सिटमा सार्यौँ । अब आधुनिक मात्र गाउने है भन्ने सल्लाह भयो, याद भएका गीत गाउँदा गाउँदै खाना खाने ठाँउ खरी ढुङ्गा पुगियो ।
चिसो ठाँउ । पारीपट्टि सुन्दर ठाँउ खरीढुङ्गा । हामी खानामा भन्दा पनि फोटो र भ्यू हेर्नमा नै रमाइरहेको थियौँ ।
पटकपटक खाना खाना बोलाउदा पनि हामी फोटो खिच्नमा नै व्यस्त भएको देखेपछि हामीलाई जिरी घुमाउन लाने कार्यक्रमको संयोजन गरीरहेका लीलाराम खड्का आफै बोलाउन आइपुगे । चिसो ठाँउको खाना प्लेटमा राख्यो कि सेलायो । अघि फोटामा व्यस्त भएको त अब खाना खानेबेलामा पो देखियो । खाँदा खादै भात चामलमा जस्तो भयो । ०००
खाने खाएपछि चरिकोट, तामाकोशी हुँदै गाडी जिरी तिर हुत्तियो । अब त गाडी भन्दा अघि मन हुइकिँन थाल्यो । कस्तो होला त्यो जिरी । मनमा गम्दा गम्दै मैनापोखरी हुँदै जिरीको हाटडाडा पुगियो । पहाडको बिचमा बसेका उपत्यकामा जिरी बजार । ओहो कस्तो सुन्दर, स्नीग्ध र शितल जिरी । छेउमा छोर्तेन । जिरी विमानस्थल (हालबन्द) सडकको दुई छेउमा बनेका घर । सुन्दर देखियो जिरी बजार । आँखाले जिरी नियाल्दा नियाल्दै होटल गाभिल्लामा पुग्यौँ । ०००
सानो चिटिक्क परेको उपत्यका । प्रकृति र धर्मको संगमस्थल । जिरेल समुदायको आदिम भूमि–जिरी देख्दा मनमा लाग्यो काठमाडौँले नदेखेको अर्को सुन्दर संसार यहाँ पो रहेछ । हरियाली डाँडा, सफा र सुन्दर वातावरणले मन त्यसै फुरूङ्ग हुने । अझै भूइँ कुहिरोको लुकामारी खेलेको दृश्य आँखैमा टाँसिने ।
उत्तर–दक्षिण फैलेको र पूर्व–पश्चिम साँघुरो तर सुन्दर उपत्यका । भोलिपल्ट बिहानै उठेर जिरेश्वरको दर्शन गर्न लाग्यौँ । चट्टानहरुको बीचका विराजमान भएका जिरेश्वर ।
मन्दिर नजिकै झरना, तल सुसाइरहेको खोला । ‘धेरै पहिला यहाँका किसानले पालेको गाईले दूध दिएन छ, किन दिएन भन्दै खोजी गर्दा उक्त गाइले दूध सधैं त्यहीँ आएर ढुंगामा दिने गरेको पाइएपछि जिरेश्वरी मन्दिरको रुपमा किसानहरुले आएर पूजा गर्न थालेका थिए रे।’ यहाँ मागेको हरेक कुरा पुरा हुन्छ रे हामीलाई जिरीसम्म पु¥याउने र त्यसै ठाँउका स्थानीय एवम् पर्यटक प्रवद्र्धन मञ्चका अध्यक्ष लीलाराम खड्का भन्दै थिए । ०००
बजारसँगै गाई फारम, पोखरी, प्राविधिक शिक्षालय, अस्पताल । त्यस तल विमानस्थल (हाल बन्द), जिरीको शिरको च्योर्दोङ डाँडा । जहाँबाट रोल्वालिङ,नुम्बुर र लाङटाङ हिमसृङ्खला आँखै अगाडि मुस्कुक्क मुस्कुराउँदै उभियो ।
जिरी बजारको पश्चिमको चिहान डाँडा जिरी भ्यू पोइन्ट । जहाँ बुद्ध पार्क छ । चिया बगान । लौटी झरना । दिनभर जिरी घुमेपछि बेलुका होटल गाभिल्ला फर्कियौँ । होटल अगाडि फलिरहेका किवी । होटलमा राखिका याकको चिज ।
लोकल छुर्पी लिएर विजिशा, तारा दिदी र म बाहिर हावा खान जिरी बजार निस्कियौँ । चिसो हावाको झोक्काले मन मिठो स्पर्श गरेर गयो । त्यो न्यानो स्पर्श अझै महसुस हुन्छ । ०००
स्विस सरकारले २०१४ सालदेखि ‘जिरी बहुद्देश्यीय विकास परियोजना’ मार्फत दोलखाको कृषि, सडक, शिक्षा, स्वास्थ्य र ग्रामीण विकासमा सहयोग गर्दै आएको छ । स्विजरल्याण्डको जुरिच र जिरीको भुगोल मिल्दोजुल्दो भएकाले जिरीलाई नेपालको स्विजरल्याण्ड भनिभनिएको रहेछ । ०००
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE