Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

आहारपूरक खाद्य सामग्रीको बिक्री वितरणबारे दुष्प्रचार भयो : नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ

काठमाडौँ । नेपाल आहारपूरक सौन्दर्यबर्धक संघ एनएनसीएले आहारपूरक र न्युट्रास्युटिकल्सको विषयमा गरेको दुष्प्रचारप्रति आपत्ति जनाएको छ । स्वास्थ्य मन्त्रालय र विभिन्न संघसंस्थाको हवाला दिँदै गरिएको दुष्प्रचार नगर्नसमेत एनएनसीएले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘औषधि र औषधिजन्य वस्तुहरुको बिक्री वितरण गर्ने नेपाल फार्मेसी संघले १७ माघ २०८१ मा प्रकाशित गरी खाद्यपूरक न्युट्रास्युटिकलबारे जिम्मेवारहीन विज्ञप्ति वदनियतपूर्ण छ । त्यसैले नेपाल सरकारको कानुनी प्रक्रिया पूरा गर्ने आयातकर्तालाई यस्तो प्रकारको आरोप नलगाउन एनएनसीए विनम्र अनुरोध गर्दछ ।’

साथै एनएनसीएले राज्यको सर्वोच्च र प्रतिष्ठित पेशा डाक्टर र स्वास्थ्यकर्मीलाई लगाएको आरोप तत्काल अविलम्ब फिर्ता लिन अनुरोध गरेको छ ।

सर्वोच्च अदालतले गत असार १० गते गरेको फैसलाको पूर्ण पाठ नआउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ १५ गते सूचना प्रकाशित गरी एकतर्फी रुपमा खाद्यपूरक र न्युट्रास्युटिकलको बिक्री वितरणमा रोक लगाएको भन्ने भ्रमपूर्ण सूचनाप्रति पनि एनएनसीएले आपत्ति जनाएको छ ।

एनएनसीएले राज्यको सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर दर्ता गरी राज्यलाई एथेष्ट कर तिर्ने एवं आम नेपाली उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम हो भन्ने मान्यता र व्यवसायिक हकहित सुरक्षा र अनुशासित व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन भएको उल्लेख गर्दै विज्ञप्तिमा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गरी आयात गरिरहेको व्यवहोरा जानकारी गराइएको छ ।

‘नेपाल सरकारबाट खाद्य स्वच्छता ऐन २०८१ लागू भइसकेको र उक्त ऐनमा स्पष्ट रुपमा खाद्यपूरक वस्तुको बारेमा व्याख्या गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतः अन्यथा सम्पूर्ण रुपमा कानूनी प्रक्रियामा जाने र यो औषधि र स्वास्थ्य व्यवसायी नै धरापमा जानेछ भन्ने कुरा अवगत गराउन चाहन्छौं ।’

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ बैशाख २३ गते राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बाट कार्यान्वयनमा आएको छ ।

सो ऐनको परिच्छेद ६ ‘विभाग र प्रयोगशाला’ शीर्षकको २६ नम्बरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम, कर्तव्य र अधिकार अन्तर्गत ख मा ‘आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाद्य पदार्थ सम्बन्धी मापदण्ड सोही विभागले निर्धारण गर्ने’ उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE