Date
सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

गैरजिम्मेवार प्रहरी? धनुषामा सई जीवन साहको अनुशासनहीन आचरणले प्रहरी संस्थामाथि प्रश्न उठ्यो

✍️सवाल मिडिया समाचारदाता
धनुषा, फागुन २८ गते। जनताको सुरक्षाका लागि खटिने प्रहरी नै जब नियम, निर्देशिका र आचरणको पालना गर्न असफल हुन्छ, तब उसले कानुनको रक्षा होइन, अवहेलनाको प्रतिनिधित्व गर्छ। धनुषा जिल्ला स्थित ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) जीवन साह यतिबेला त्यस्तै विवादमा तानिएका छन्।

स्थानीय नागरिकको गुनासो अनुसार सई साह गुटखा चपाएर कार्यालयमै थुक्ने, बर्दीमै मद्यपान गरेर ड्युटीमा बस्ने, अभद्र व्यवहार गर्ने, र ‘मिलापत्र’का नाममा एकपक्षीय दबाब दिने गतिविधिमा लिप्त छन्।

बर्दीमै गुटखा, कार्यालयमै थुक

नेपाल सरकारद्वारा जारी गुटखा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशिका, २०७१ ले सार्वजनिक कार्यालयमा यस्ता पदार्थको प्रयोग निषेध गरेको छ। तर, सई साहले प्रहरीले पालना गर्नुपर्ने कार्य संचालन निर्देशिका, २०७१ र प्रहरी सेवा आचरण नियमावली, २०७० दुवैको धज्जी उडाउँदै आएका छन्।

सार्वजनिक रुपमा देखिएको एउटा तस्बिरमा उनी प्रहरी पोशाकमै गुटखा मिलाउँदै देखिएका छन्, जुन दृश्यले प्रहरी कार्यालयको गम्भीरता र मर्यादामाथि प्रश्न खडा गरेको छ। स्थानीयको भनाइमा कार्यालय वरपर थुकिएका गुटखाका थुकले कार्यालय क्षेत्र नै फोहोर भएको छ।

पीडितमाथि दवाव, दोषीलाई बचाउ

अर्को गम्भीर आरोप भनेको मिलापत्रको नाममा हुने पक्षपातपूर्ण व्यवहार हो। स्थानीयको अनुसार उजुरी लिएर आउने पीडितहरूमाथि अभद्र व्यवहार गर्ने, दोषी पक्षलाई खाना–पानीको सुविधा दिएबापत ‘साथी’ मान्ने र पीडित पक्षलाई हेप्ने उनको शैली पुरानै हो।

कानुन तोड्ने प्रहरीको मौन निरीक्षण?

नेपाल प्रहरी सेवा आचरण नियमावली, २०७० को दफा ३ र ५ ले प्रहरीलाई मर्यादित, अनुशासित र निष्पक्ष रहन स्पष्ट निर्देशन दिएको छ। साथै प्रहरी ऐन, २०१२ र नियमावली, २०४९ ले यस्ता गतिविधिमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाहीको व्यवस्था गरेको छ। तर, यति गम्भीर आरोपहरुप्रति धनुषा प्रहरी नेतृत्वको मौनता र निष्क्रियता नै अब थप चिन्ताको विषय बनेको छ।

स्थानीयको माग — छानबिन र कारबाही

सई साहको अनुशासनहीन र अशिष्ट व्यवहारले सम्पूर्ण प्रहरी संस्था नै विवादमा मुछिनु नपरोस् भन्ने स्थानीयको अपेक्षा छ। उनीहरू भन्छन्, “हामी प्रहरीलाई सम्मान गर्छौं, तर यस्ता अनुशासनहीन प्रहरीलाई संरक्षण होइन, कारबाही हुनुपर्छ।”

यदि यस्ता गतिविधिमा संलग्न प्रहरीमाथि ठोस कदम चालिएन भने, त्यो सम्पूर्ण प्रहरी संगठनको विश्वसनीयता र जनताको विश्वासमाथि खतरा बन्ने देखिन्छ। प्रहरी नेतृत्वले अब ढिलो नगरी सत्यतथ्य छानबिनसहित कारबाही प्रक्रिया अगाडि बढाउन आवश्यक छ।

WRITE COMMENTS FOR THIS ARTICLE