सिरहा सशस्त्र प्रहरीमाथि तस्करीको आरोप, २ क्विन्टल गाँजा बरामद, स्थानीयको रोष चरममा!
✍️ विशेष रिपोर्ट, सिरहा
सिरहा, असार ३२ गते — सिरहाको सीमावर्ती क्षेत्र औरही गाउँपालिका–५ स्थित मलाह टोलमा लागुऔषध गाँजा ओसार–पसारमा संलग्न एक युवक २ क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार राति करिब १०:३० बजे उक्त गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय राम उदगार मलाह रहेका छन्। उनीसँगै प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजाको ७ वटा पोका सहित बरामद गरेको हो, जसको कुल तौल २ क्विन्टल १२ किलो ९२५ ग्राम रहेको छ।
पक्राउ परेका मलाहलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ असार २९ गते सिरहा जिल्ला अदालतबाट २७ गते देखि लागु हुने पाँच दिनको म्याद लिइ अनुसन्धान अघि बढाइएको छ।

सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न
गाँजा बरामद भएको स्थान छिमेकी भारतसँगको सीमाबाट मात्र करीब १ किलोमिटर दूरीमा पर्छ। यही क्षेत्रको केही दूरीमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउटपोष्ट (बिओपी) ईटाटार रहेको छ। घटनास्थल नजिकै सशस्त्र प्रहरीको तैनाथी हुँदाहुँदै यस्तो परिमाणमा गाँजाको ओसार–पसार हुनुले स्थानीयवासीमा गम्भीर प्रश्न खडा भएको छ।
स्थानीयको आरोप छ — “सशस्त्र प्रहरी बलले आफ्नो मातहात क्षेत्रभित्र के कस्ता गतिविधि भइरहेको छ भन्ने जानकारी नपाउनु रहस्यमय छ, या त उनीहरूकै संलग्नता हो?”

घुमुवा प्रणालीको दुरुपयोग?
यो घटनाले पुनः एकपटक सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर, सिरहाका गणपति एसपी नरेश भण्डारीका ‘प्रिय पात्र’ घुमुवाहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

यस्तै, केही दिनअघि सिरहा भन्सार कार्यालय माडरले अवैध तस्करीमा संलग्न सामग्री नियन्त्रणमा लिएपछि ती घुमुवा सशस्त्र प्रहरीहरूको संलग्नता पुष्टि भएको थियो। तर त्यसबारे कुनै कडाइका साथ अनुसन्धान वा कारबाही नभएको भन्दै स्थानीयहरू असन्तुष्ट देखिएका छन्। विभागीय कारबाही नगरी ‘घर बिदा’ पठाएको भन्दै स्थानीयस्तरमा व्यापक आक्रोश छ। उनीहरूलाई
सीमा सुरक्षा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर, सिरहाका गणपति एसपी नरेश भण्डारीको नजिक मानिने यी घुमुवाहरू तस्करीका मुख्य संरक्षकको रूपमा चिनिन थालेका छन्।

प्रदेश र संघीय निकाय मौन किन?
लागुऔषध सहित अबैध तस्करीमा घुमुवा प्रहरी संलग्नता जनस्तरबाट आरोप र भन्सार तथा प्रहरीबीच समन्वयको अभाव जस्ता विषयले समग्र सीमा सुरक्षामाथि प्रश्न उठाएको छ। तर न त गृह मन्त्रालय, सशस्त्र प्रहरी मुख्यालय न त मधेश प्रदेश स्थित छिन्नमस्ता नम्बर २ बाहिनी पतिको स्तरबाट कुनै औपचारिक छानबिन सुरु गरिएको छ।
न्यायिक छानबिनको माग गर्दै स्थानीय अगुवा नागरिक समाज, लगायतकाले आवाज उठाउन थालेका छन्।
स्थानीय आक्रोश र माग
सिरहाका नागरिक समाज, व्यापारी संघ, र युवा समूहहरूले सशस्त्र प्रहरीको भूमिकामाथि छानबिन गर्न माग गरेका छन्। “सीमाको सुरक्षाका लागि खटिएको संस्था नै यदि तस्करीमा संलग्न हुन्छ भने, यो मुलुकको सुरक्षामाथि खतरा हो”, एक स्थानीय अगुवाले भने।
सिरहा सीमामा दिन प्रतिदिन बढ्दै गएको लागुऔषध तस्करी र सशस्त्र प्रहरीको विवादास्पद भूमिका राज्यका लागि गम्भीर चुनौती बनिरहेको छ। अब नागरिकको प्रश्नको जवाफ दिन राज्य संयन्त्र र अनुसन्धान निकाय कति जिम्मेवार बन्छ — त्यो हेर्न बाँकी छ।
यता, यस विषयमा सीमा सुरक्षा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी नरेश भण्डारी सँग प्रतिक्रिया लिने प्रयास गरेका थियौ। तर उहाँ सँग भने सम्पर्क हुन सकेन। 9851272105
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE