के हुदै छ सिन्धुपाल्चोक बाढीपहिरोमा वेपत्ता २० जनाको खोजी कार्य
काठमाडौँ-सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा आठ दिन अघि आएको बाढीपहिरोमा वेपत्ता भएका २० जना अझै फेला परेका छैनन् । बेपत्ताहरुलाई भोटेकोशीले बगाएको आशंका गर्न थालिएको छ । असार २४ गते राति आएको बाढी र पहिरोमा परि तीन जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका थिए । उनीहरुको खोजी जारीरहेको भएपनि अहिलेसम्म पत्ता लागेको छैन ।
चार दिनदेखि एक्स्काभेटर लगाएर खोजी भइरहेको छ । तर, वेपत्ता भेटिने सम्भावना न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाकारी दिएको छ । बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा एक्स्काभेटरले समेत हटाउन कठिनाइ भएको जनाइएको छ । उद्धारका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ ।
बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रिएको प्रहरी जनाएको छ । बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ । खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ । डिभिजन सडक कार्यालय दोलखाले सुनकोशी नदीले बगाएको जुरेको करिब १ सय ५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्न सक्ने बनाएको छ । जसले गर्दा बाह्रबिसेसम्म गाडी चल्न थालेको छन् ।
बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारीमा रहे पनि सडक अवरुद्ध भएका कारण ल्याउन सकिएको छैन । बाह्रबिसेको खोर्सानीबारीको सडक पूरै नदीले बगाएको र भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव छैन । त्यसका लागि मनसुन हटेर भोटेकोशीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने देखिन्छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE